Logo

नीति, सिद्धान्त र विचारमा मेल नभै राजपासँग पार्टी एकता हुन सक्दैन : फोरम सहअध्यक्ष श्रेष्ठ



५ पुस, काठमाण्डौ । संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले चुनावी नतिजाले आफ्नो पार्टीलाई उदियमान राष्ट्रिय पार्टीका रुपमा स्थापित गरेको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै श्रेष्ठले आफ्नो दलको नीति र कार्यक्रम जीवन्त भएर देखिएको बताए ।

अबका दिनमा फोरमलाई कसैले पनि माइनस गर्न नसक्ने दाबी गर्दै श्रेष्ठले अर्को पटकको चुनावमा जित हासिल गरेर सरकारको नेतृत्वमा पुग्नका लागि कसरत गरिने बताए ।

प्रदेश नम्बर २ मा राजपासँग मिलेर सरकार बनाउने श्रेष्ठले जानकारी दिएका छन् । मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको श्रेष्ठको भनाई छ ।
राजपासँग पार्टी एकता गर्ने विषयमा एजेण्डाको रुपमा छलफल नभएको श्रेष्ठले जानकारी दिए । चुनाव जाने बेला तालमेल भए पनि पार्टी एकता भइहाल्छ भन्ने अवस्था नरहेको उनको भनाई थियो ।

नीति, सिद्धान्त र विचारमा मेल नभै पार्टी एकता हुन नसक्ने श्रेष्ठको भनाई थियो ।
“वैचारिक एकताबिना राजपासँग पार्टी एकता हुँदैन । तत्काल पार्टी एकताको सम्भावना छैन । तर एकताको ढोका भने खुलै छ ।” श्रेष्ठले भने ।

केन्द्रिय सरकारमा सहभागि हुने तयारी हो भन्ने ऋषि धमलाको प्रश्नमा श्रेष्ठले पहिचान र अधिकारको मुद्दामा वाम गठबन्धन सहमत भयो वा संविधान संशोधन गरेर माग पूरा गर्न तयार भएको खण्डमा सरकारमा सहभागि हुने सक्ने बताए ।

गठबन्धनको बहुमत आएको अवस्थामा आफूहरुको आवश्यकता महसुश हुन्छ वा हूँदैन त्यो हेर्न बाँकी रहेको श्रेष्ठको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्