Logo

स्वदेशमा रोजगारी सिर्जना गर्ने उद्योगलाई आगामी सरकारले सहुलियत प्रदान गर्ने : लालवावु पण्डित



विराटनगर, ५ पुस (रासस) : नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य लालवावु पण्डितले राष्ट्र निर्माण तथा स्वदेशमा रोजगारी सिर्जना गर्ने उद्योगलाई आगामी सरकारले सहुलियत प्रदान गर्ने बताउनुभएको छ ।

विराटनगरको जैन भवनमा आजदेखि आयोजित ‘जुत्ता चप्पल व्यापार मेला–२०७४’ को उद्घाटन गर्दै उहाँले निर्यातमुखी उद्योग स्थापना गरी व्यापार घाटा न्यूनीकरण गर्न उद्यमीसँंग आग्रह गर्नुभयो ।

नेपाल जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले सरकारले जुत्ता चप्पल उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थमा पाँच प्रतिशत मात्र भन्सार महशुल लिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले आगामी दिनमा विराटनगरमा विद्युतीय सामग्री र सूचना प्रविधि मेलाको आयोजना गर्ने बताउनुभयो । कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष पवन शारडा, शिखर शुजका रामकृष्ण प्रसाईँलगायतले स्वदेशी उद्योगका उत्पादन प्रयोग गर्न आग्रह गर्नुभयो ।

एक महिनासम्म संचालन हुने उक्त मेलामा स्वदेशी छ वटा जुत्ता चप्पल उद्योगका दुई हजार किसिमका उत्पादन बिक्रीका लागि राखिएको छ । व्यापार मेलाबाट रु पाँच करोडको कारोबार हुने लक्ष्य लिइएको छ ।

नेपालमा वार्षिक सात अर्बको जुत्ता चप्पलको कारोबार हुने गरेकामा ६० प्रतिशत स्वदेशी उत्पादन रहेको कार्यक्रममा बताइयो ।



प्रतिक्रिया दिनुहोस्