Logo

लगानीमैत्री वातावरण सिर्जना हुनुपर्छ : उपराष्ट्रपति पुन



बुटवल, ६ पुस (रासस) : उपराष्ट्रपति नन्दबहादुर पुनले औद्योगिक विकासका लागि लगानीमैत्री वातावरण सिर्जना हुनुपर्ने बताउनुभएको छ ।

रुपन्देही उद्योग संघद्वारा आयोजित ‘१४औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी एंव कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७४’ को आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो –“देशको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेका उद्योग व्यवसायको संरक्षण, सम्वद्र्धन र विकासका लागि सरकारी तथा निजी क्षेत्रको साझेदारी जरुरी छ ।”

उपराष्ट्रपति पुनले राजनीतिक संक्रमणको अन्त्य भएर स्थायित्व कायम भई मुलुकमा अब पूर्ण लगानीमैत्री वातावरण बनेकाले औद्योगिक विकासका लागि लगानी वृद्धि गर्न निजी क्षेत्रलाई अपिलसमेत गर्नुभयो ।

नेपालको औद्योगिक विकास, राष्ट्रिय अर्थतन्त्र र रोजगारी सिर्जनामा निजी क्षेत्रको उल्लेख्य योगदान रहेको चर्चा गर्दै उहाँले औद्योगिक विकासमा रहेका झन्झटिला नीति नियमलाई सरल र छिटोछरिटो बनाउन सरकारको ध्यानाकर्षण पनि गराउनुभयो ।

उपराष्ट्रपति पुनले भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनसँगै मुलुकमा लामो समयदेखिको राजनीतिक संक्रमण अन्त्य भई स्थायित्व आरम्भ हुन लागेको बताउँदै “देशमा अब नयाँ युगको प्रारम्भ भएको छ, यो युग आर्थिक समृद्धिको युग हो” भन्नुभयो ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत प्रत्येक नेपालीको आर्थिक सामाजिक रुपान्तरणसहित समृद्ध नेपाल निर्माणको संकल्प गरेको छ, उहाँले भन्नुभयो, “अब हाम्रो प्रतिस्पर्धा समृद्धिका लागि हुनुपर्दछ ।”

उपराष्ट्रपति पुनले आर्थिक समृद्धिका लागि आर्थिक क्रान्ति जरुरी रहेको चर्चागर्दै साझा संकल्प, दृढ इच्छाशक्ति र लगनशीलता भएमा देशलाई समृद्ध बनाउन सकिने स्पष्ट पार्नुभयो ।

प्रकृति स्रोतसाधनको उच्चतम सदुपयोगबाट मात्रै देशलाई समृद्ध बनाउन सकिने भएकाले अब त्यसतर्फ ध्यान दिनुपर्ने बेला आएको बताउँदै उहाँले ठूलठूला उद्योग, कलकारखानाको स्थापना, जलविद्युत् निर्माण, व्यावसायिक तथा आधुनिक कृषि उत्पादन, जडीबुटीको व्यवसायीकरण, पर्यटनको विकास र तीव्र गतिमा भौतिक पूर्वाधार निर्माण हाम्रो आर्थिक समृद्धिको आधार तथा आर्थिक क्रान्तिका हतियार भएको धारणा व्यक्त गर्नुभयो ।

उपराष्ट्रपति पुनले “यी क्षेत्रको विकासबाट लाखौँका लागि रोजगारी सिर्जना गरी गरिबी न्यूनीकरण गर्नुका साथै रोजगारीका लागि विदेशिनुपर्ने बाध्यतालाई कम गर्न सकिन्छ” भन्दै आन्तरिक उत्पादन वृद्धि गरेर निरन्तरको आयात वृद्धिलाई प्रतिस्थापन गरी बढ्दो व्यापार घाटा कम गर्नु आवश्यक रहेको छ भन्नुभयो ।

नेपाल विश्व व्यापार संगठनमा प्रवेश गरेको परिपेक्ष्यमा थपिएका चुनौतीको सामना र प्राप्त अवसरको सदुपयोग गर्नुपर्नेमा जोड दिदैं उहाँले औद्योगिक विकासका लागि आवश्यक पर्ने सीप र दक्षताका लागि पनि सरकार तथा निजी क्षेत्रको साझेदारी जरुरी रहेको बताउनुभयो ।

सो अवसरमा पूर्वमन्त्री तथा प्रतिनिधिसभा रुपन्देही क्षेत्र नं २ का सांसद विष्णुप्रसाद पौडेलले संविधानको कार्यान्वयनबाट अब संक्रमणकालको अन्त्य भई राजनीतिक स्थिरतातर्फ मुलुक गइरहेको बताउँदै अब देश आर्थिक विकास र समृद्धितर्फ उन्मुख हुनुपर्छ भन्नुभयो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले अबको सरकारले उद्योगमैत्री लगानी वातावरण बनाई उद्योगीलाई सम्मान गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो ।

संघका अध्यक्ष दिनेशराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देहीका प्रदेशसभा सदस्य दधीराम न्यौपाने, भोजप्रसाद श्रेष्ठ, संघका पूर्वअध्यक्ष एजाज आलम, एकराज विक, जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी लगायतले मुलुकमा औद्योगिक विकास हुनुपर्नेमा जोड दिनुभयो ।

स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ शुरु भएको महोत्सवमा छ लाख दर्शकले अवलोकन गर्ने र रु २० करोडको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ ।

प्रदर्शनीमा औद्योगिक प्रविधि, सूचना प्रविधि, रेस्टुराँ, अटो, कृषि, हस्तकला, फ्लोरिकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटीलगायतका गरी पाँच सय कक्ष रहेका छन् । प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त आधुनिक गायक गायिका, हास्य कलाकार, ब्याण्डको सांगीतिक कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, प्रदर्शनी आइडल, आरसिआइ ट्यालेन्ट हन्ट लगायतका प्रतियोगिता पनि सञ्चालन हुनेछ ।

प्रदर्शनीमा प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताको सोझो सम्पर्कको स्थापना गर्ने, उत्पादित वस्तुको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीका बीचमा समस्या, अवसर र चुनौतीबारे अन्तक्र्रिया गर्ने, सूचना र प्रविधिको विकास, विस्तार र आदानप्रदान गर्ने, पर्यटन क्षेत्रको विकास, सान्दर्भिक गोष्ठी, अन्तक्र्रिया र कार्यशालाको आयोजना गर्ने, अवलोकनकर्ता र उपभोक्ताको सुझावको संकलन गरिने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्