Logo

देउवाले प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्नु चारो हाले सरह हो : विश्लेषक लोकराज बराल



नेपाली कांग्रेसले चुनाव हारे पनि महत्व घट्दैन

७ पुस, काठमाण्डौ । राजनीतिक विश्लेषक लोकराज बरालले संघीयता कार्यान्वयनको बाटो जटिल हुने बताएका छन् । नेपालका लागि नयाँ भएकाले प्रादेशिक सरकारलाई सफल बनाउन ठूलै चुनौति देखिने ठोकुवा बरालले गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै बरालले स्थानीय सरकार, प्रदेश सरकार र राष्ट्रिय सरकारलाई चुस्त बनाउनका लागि अहिलेकै जस्तो राजनीतिक चरित्र भएर नहुने बताए ।

सबै सरकारबिच समन्वय हुन सकेन भने झगडा हुने र जनताको हितमा काम हुन नसक्ने बरालको तर्क छ ।
पछिल्लो राजनीतिक विवादबारे बरालले दलहरु संवादमार्फत सहमतिमा आउनुपर्ने सुझाब दिए । वाम गठबन्धनले चुनाव जित्दा प्रधानमन्त्रीले बधाई दिन नसक्नु र चुनाव सम्पन्न गराउन सफल प्रधानमन्त्रीलाई धन्यवाद र बधाई दिन नसक्नु नै कमजोरी भएको उनको भनाई छ ।

नेपाली राजनीतिज्ञको अनुशासित राजनीतिक संस्कार नभएको उनको आरोप छ । माओवादी अध्यक्ष प्रचण्डले भने चुनाव सम्पन्न गराएकोमा देउवालाई धन्यवाद दिएर राम्रो संस्कार देखाएको उनको भनाई थियो ।

बरालले एमाले र माओवादीबिच पार्टी एकता गर्नुको विकल्प नभएको बताएका छन् । कम्तिमा पनि दुई वर्ष एउटै व्यक्तिको नेतृत्वमा सरकारले काम गर्ने अनुमान उनले गरे ।

पदीय भागबण्डाका आधारमा २ वर्षभन्दा बढि एउटै सरकार टिक्ने वा नटिक्नेमा भने सहमतिमा भर पर्ने उनको तर्क छ । शेरबहादुर देउवाले प्रचण्डलाई
प्रधानमन्त्रीको प्रस्ताव गर्नु प्रचण्डकै कार्यशैलीका मुख्य कारण भएको उनको भनाई छ । “प्रचण्डले बेलाबेलामा लाइन चेन्ज गरिरहेकाले चारो हालिएको मात्रै हो । तर अहिलेको स्थितीमा त्यस्तो हुने स्थिती छैन । किनभने प्रचण्डलाई पनि त्यसले राम्रो गर्दैन ।” बरालले भने ।

नेपाली कांग्रेसले चुनाव हारे पनि महत्व नघट्ने उनको भनाई छ । कांग्रेसकै प्रजातान्त्रिक सिद्धान्तमा कम्युनिष्टहरु हिँडेको बताउँदै बरालले नक्सलवादीबाट परिवर्तन भएर बहुदलीय पद्धतिमा कम्युनिष्टहरु गएको बताए ।

कांग्रेसको नेतृत्वको कार्यशैली कमजोर भएकाले चुनावमा कमजोर नतिजा आएको उनको तर्क छ ।

राष्ट्रपतिले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश अड्काएर राख्नु गलत भएको बताउँदै बरालले तत्काल स्विकृत गर्नुपर्ने बताए ।
एकल संक्रमणीय मत प्रणाली नै अहिलेको अवस्थामा उचित भएकाले यस विषयमा विवाद झिक्न नहुने उनको भनाई छ । संविधान अनुसार नै विधेयक बनेको उनको तर्क छ ।
नेपालका वकिलहरु पार्टीको स्वार्थ अनुसार बोल्ने हुँदा फरक फरक तर्क आएको बरालको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्