Logo

प्रचण्डलाई कुनै लोभ देखाएको छैन, कांग्रेस प्रतिपक्षमा बस्छ : बालकृष्ण खाँड



१८ पुस, काठमाण्डौ । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले जनमतको सम्मान गर्दै प्रतिपक्षको भूमिकामा रहने स्पष्ट पारेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता खाँडले आफ्नो दल प्रतिपक्षमा बस्ने बताएका हुन् ।

वाम गठबन्धन तोड्ने प्रयास नेपाली कांग्रेसले गरेको हो भन्ने धमलाको प्रश्नमा खाँडले गठबन्धन तोड्ने र बनाउने काममा अहिले नेपाली कांग्रेस नलाग्ने दाबी गरे ।

महामन्त्री शशांक कोइरालाले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाएर वाम गठबन्धन तोड्नुपर्ने अभिव्यक्ति दिएको विषयलाई खाँडले कोइरालाको व्यक्तिगत विचार भएको बताए ।

“नेपाली कांग्रेसको आधिकारिक धारणा भनेको प्रतिपक्षमा नै रहने हो ।” खाँडले भने ।

संद्धान्तिक र व्यवहारिक रुपमा अहिले कांग्रेस कुनै दलभित्र खेल्ने अवस्थामा नरहेको उनले स्प्ष्ट पारे । जनताले प्रतिपक्षमा बस्नका लागि मत दिएकाले आफूहरु प्रतिपक्षमा बस्नुपर्छ भन्ने मानसिकतामा रहेको बताए ।

प्रदेशसभाको समानुपातिकतर्फको नाम नमिलेको भन्ने निर्वाचन आयोगको भनाईका बारेमा खाँडले पुनः सच्याएर नाम पठाउने जानकारी दिए ।
निर्वाचन आयोगले प्रदेश प्रमुख तोक्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको जानकारी दिदै खाँडले सोही अनुसार सरकारले प्रदेश प्रमुख तोक्ने गृहकार्यमा रहेको बताए ।

प्रदेशको राजधानी प्रदेशसभाले तय गर्ने भए पनि तत्काल शपथ ग्रहण गर्ने ठाउँ भएकाले त्यसका लागि सरकारलाई दबाब परेको उनले बताए ।

प्रदेशसभाले राजधानीको टुङ्गो लगाउनुपर्छ । तर पहिलो बैठक बस्नका लागि स्थान तोक्न सरकारलाई दबाब छ ।
प्रदेश नम्बर ५ को सबैभन्दा ठूलो र योग्य शहर बुटवल भएकाले राजधानीका लागि आफूले सुझाब दिएको उनले बताए ।

अहिले प्रधानमन्त्रीले राजिनामा दिनेभन्द पनि नयाँ सरकार गठनका लागि वाम गठबन्धनले गृहकार्य गर्नुपर्ने बताए । संविधानअनुसार नयाँ सरकार गठनका लागि नेकपा एमालेले अवरोध गर्न खोजेको उनको अरोप छ ।

राष्ट्रियसभाको चुनावबाट ३३ प्रतिशत महिलाको सुनिश्चितता नभएसम्म प्रतिनिधिसभातर्फ समानुपातिकको परिणाम सार्वजनिक गर्न नमिल्ने कानुनी व्यवस्था भएकाले नयाँ सरका बन्नका लागि राष्ट्रियसभा गठन हुनुपर्ने खाँडले बताए ।



प्रतिक्रिया दिनुहोस्