Logo

संविधान बृहत्त सम्झौताको दस्तावेजः रक्षामन्त्री प्रधान



काठमाडौं, २२ पुस ।  रक्षामन्त्री भीमसेनदास प्रधानले अहिलेको संविधान बृहत सम्झौताको दस्तावेज भएको बताएका छन् ।

विभिन्न विचार, समूह र राजनीतिक सिद्धान्तमा रहेका दलहरुबीचको सहमति र सम्झौताको दस्तावेजका रुपमा अहिलेको संविधान जारी भएकाले पनि सबैलाई समेटेर अगाडि बढ्नुको विकल्प नभएको मन्त्री प्रधानले बताए ।

नेपाल पत्रकार मञ्चद्वारा आयोजित प्रताप स्मृति पत्रकारिता पुरस्कार २०७३, अग्रज पत्रकार सम्मान २०७४ तथा सितादेवी ढकाल पत्रकारिता पुरस्कार घोषणा कार्यक्रममा बोल्दै प्रधानले निर्भिक, निष्पक्ष र स्वतन्त्र पत्रकारिताले नै समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

मुलुकमा भएका जतिपनि राजनीतिक परिवर्तन छन् त्यसमा पत्रकारिता क्षेत्रले अहंम भूमिका खेलेको बताउँदै प्रधानले भने,‘लोकतन्त्र, मानवअधिकार र स्वतन्त्र पत्रकारिता एक अर्कासँग अन्तरनिहीत बिषयबस्तुहरु हुन् ।’ लोकतन्त्रबिना स्वतन्त्र पत्रकारिताको परिकल्पना गर्न नसकिने बताउँदै प्रधानले आगामी दिनमा संघीय लोकतन्त्रको संस्थागत विकासको निम्ति सञ्चार माध्यमले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले राजनीतिक परिवर्तनमा प्रेसले खेलेको भूमिका उल्लेखनीय रहेतापनि राज्यले अझैपनि सञ्चार माध्यमलाई महत्व दिन नसकेको बताए । लोकतन्त्रलाई संस्थागत रुपमा अगाडि बढाउन प्रेसले महत्वपूर्ण भूमिका खेलेकोमा कुनै दुईमत नभएको भन्दै बिष्टले भने,‘प्रतिपक्षमा हुँदा स्वतन्त्र पत्रकारिताको कुरा गर्ने तर सरकारमा पुगेपछि पत्रकारिता कुण्ठित पार्ने काम हुने गरेको छ ।’

कार्यक्रममा नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले लोकतन्त्र र मानवअधिकारको संस्थागत विकासको निम्ति प्रेसले खेलेको भूमिकालाई कसैले पनि कम आंकलन गर्न नमिल्ने बताए । पत्रकारहरुको हकहित र उनीहरुको बृत्ति विकासको निम्ति नेपाल पत्रकार मञ्चले स्थापनाकालदेखि नै विभिन्न सिर्जनात्मक गतिविधिहरु आयोजना गर्दै आएको बताउँदै विद्रोहीले आगामी दिनमा यस्ता गतिविधिहरुलाई बृहत रुपमा निरन्तरता दिने बताए ।

कार्यक्रममा प्रताप स्मृति पत्रकारिता पुरस्कारबाट विगत २० बर्षदेखि निरन्तर रुपमा क्रियाशील पत्रकार यज्ञ ढकाललाई नगद रु १५,०००/–सहित सम्मान पत्र प्रदान गरिएको थियो भने दुई दशकभन्दा बढी समयदेखि नेपाली पत्रकारितामा क्षेत्रमा क्रियाशील पत्रकारहरु प्रल्हाल रिजाल, मदनकुमार श्रेष्ठ, योगेन्द्रप्रताप शाही तथा रामकुमार अधिकारीलाई अग्रत पत्रकार सम्मानबाट सम्मानित गरिएको थियो । सोही कार्यक्रममा सुनकोशी गाउँपालिकामा उप्रमुख निर्वाचित मञ्चकी कार्यसमिति सदस्य लक्ष्मी पौडेललाई समेत बधाई एवं सम्मान प्रदान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्