Logo

वाम एकतामा विदेशी शक्तिलाई अनावश्यक हस्तक्षेप नगर्न भट्टराईको आग्रह



काठमाडाँै, २२ पुस (रासस) : नेकपा (एमाले)का सचिव योगेश भट्टराईले वाम एकतामा विदेशी शक्तिलाई अनावश्यक हस्तक्षेप नगर्न आग्रह गर्नुभएको छ ।

आज ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारद्वारा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा उहाँले वाम एकता मुलुकको आन्तरिक कुरा भएकाले अनावश्यक हस्तक्षेप नगर्न आग्रह गर्नुभएको हो ।

कुनै पनि शक्तिले वाम एकता भाँड्न नसक्ने दाबी गर्दै उहाँले चाँडै नै नेपाली कम्युनिस्ट शक्तिबीच एकता हुने बताउनुभयो । उहाँले संविधानको गलत व्याख्या गरेर निर्वाचन आयोगले प्रतिनिधिसभातर्फको समानुपातिकको मतपरिमाण सार्वजनिक नगरेको आरोप लगाउनुभयो । उहाँले आयोगलाई विलम्ब नगरी मतपरिणाम सार्वजनिक गर्न आग्रह पनि गर्नुभयो । उहाँले अब देश विकासमा लागी आर्थिक समृद्धिको अभियान सञ्चालन गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

एमाले प्रचार विभाग प्रमुखसमेत रहनुभएका सचिव भट्टराईले पाँच वर्षमा ताप्लेजुङको विकासले कोल्टे फेर्ने बताउनुभयो ।‘‘पाँच वर्षमा ताप्लेजुङका सबै ठाउँमा मोटर बाटो पुग्छ”, उहाँले थप्नुभयो, “त्यहाँका जनताले अबको पाँच वर्षमा विकासको अनुभूति गर्न पाउनेछन् ।”

उहाँले ताप्लेजुङ जिल्लामा विकासका हजारौँ सम्भावना रहेको औँल्याउँदै आफूले ती सम्भावनालाई वास्तविकतामा परिणत गर्नका लागि अभियानका रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा ताप्लेजुङबाट निर्वाचित प्रदेशसभाका सांसद बलबहादुर साम्सोहाङ र टंक आङ्बुहाङले ताप्लेजुङको विकास निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा राजनीतिकर्मी, पत्रकार तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्