Logo

प्रधानन्यायाधिशविरुद्ध अनशन बस्दै डा. गोविन्द केसी, यस्तो छ रहस्य



२४ पुस, काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका डिन डा. शशी शर्मालाई सर्वोच्च अदालतले चिकित्साशास्त्र अध्ययन संस्थानमा पुनर्बहाली गर्न आदेश दिएपछि प्राध्यापक डाक्टर गोविन्द केसीले अनशनको तयारी गरेका छन् ।

आज दिउँसो २ बजे पत्रकार सम्मेलनपछि अनशन बस्ने कार्यक्रम रहेको बताइएको छ ।

कनिष्ठलाई डिन नियुक्त गरिएको र सम्बन्धनको खेल भएको भन्दै डा गोविन्द केसीले थालेको अनशनले चिकित्सा क्षेत्र आन्दोलित भएपछि तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष एवं त्रिवि कूलपति खिलराज रेग्मीले शर्मालाई २०७० माग ८ गते बर्खास्त गर्न निर्देशन दिएका थिए । त्यसविरुद्ध शर्माले सर्वोच्चमा फागुन १ गते रिट हालेका थिए ।

शर्मालाई कानुनविपरित बर्खास्त गरिएको ठहर गर्दै सर्वोच्च अदालतले आइतबार पुनर्बहाली गर्न आदेश दिएको हो ।

शर्माको पदावधि सकिनु चार दिनअघि प्रधान न्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलाशले पुनर्बहाली गरेपछि केसी प्रधानन्यायाधीश विरुद्ध नै अनशनमा उत्रिन लागेका हुन् । डाक्टर केसीले स्वतन्त्र न्यायालयको माग गर्दै आएका छन् ।

शर्मालाई त्रिवि कार्यकारी परिषद्ले २०७० पुस २६ गते नियुक्त गर्ने निर्णय थियो ।

निर्णयको पर्सिपल्ट उनी नियुक्त भएकाले चारवर्षे कार्यकाल आगामी बुधबार सकिँदैछ। सर्वोच्चले ४ दिन कार्यकाल बाँकी भएका शर्मालाई बहाल हुन चाहेमा बहाल हुनु भनी आदेश दिनुका साथै तत्कालीन डिन राकेश श्रीवास्तवको नियुक्तिसमेत बदर गरिदिएको छ ।



प्रतिक्रिया दिनुहोस्