Logo

आर्थिक समृद्धिका लागि उच्चस्तरीय कार्यदल : प्रचण्ड



काठमाडौँ, २४ पुस : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक समृद्धिको खाका कोर्न सरकार, उद्योगी–व्यवसायी र विज्ञ सम्मिलित संयुक्त कार्यदल गठन गरेर जाने स्पष्ट पार्नुभएको छ ।

उहाँले भन्नुभयो, “सबै राजनीतिक दलको साझा एजेण्डा आर्थिक समृद्धिको बनेको छ । आर्थिक समृद्धिको आधारसहित वामगठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गरेको छ । अब हामी सबैको साझा एजेण्डा आर्थिक समृद्धि नै हो ।”

नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको आज भएको भेटमा अध्यक्ष दाहालले मुलुक र जनताको हितलाई केन्द्रमा राखेर विकास र समृद्धिको योजना बनाउने र त्यसलाई कार्यान्वयन गर्ने दिशामा जानुपर्नेमा जोड दिनुभयो ।

सरकार, उद्योगी व्यवसायी एक अर्काका परिपूरक भएको भन्दै अध्यक्ष दाहालले विज्ञलाई समेत सहभागी गराएर अल्पकालीन, मध्यकालीन र दीर्घकालीन समृद्धिको खाका कोरिने बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “सरकार गठनमा केही ढिलाइ भएको छ । तर, स्थिर वामपन्थी सरकार बन्छ । अबको हाम्रो मुख्य प्राथमिकता राजनीतिक स्थायित्व र आर्थिक विकास नै हो । यसका लागि हाम्रो कर्मचारी प्रशासन र ऐनहरुमा रहेका सीमाहरुको अध्ययन गरेर त्यसलाई बदल्नुपर्दछ ।”

निजी क्षेत्रसँगको सहकार्यमा आर्थिक विकास गर्ने आफूहरुको प्रष्ट धारणा रहेको भन्दै उहाँले कुनै पनि दुविधा र अस्पष्टता नराख्न समेत निजी उद्यमी तथा व्यवसायीलाई आग्रह गर्नुभयो ।

सरकार गठन भएपछि सम्बन्धित मन्त्रालय, निजी क्षेत्रका प्रतिनिधि र विज्ञ सम्मिलित कार्यदल बनाउने र त्यसको रिपोर्टका आधारमा आर्थिक विकासको खाका कोर्न सकिने उहाँको प्रष्टोक्ती थियो । अध्यक्ष दाहालले भन्नुभयो, “त्यसका लागि उद्योगी व्यवसायी पनि सोही दिशामा अग्रसर हुनुहोस् ।”

पूर्वप्रधानमन्त्री दाहालले आफ्नो प्रधानमन्त्रीत्वकालमा आर्थिक वृद्धि ७.२ प्रतिशत पुगेको, मूल्यवृद्धि दर दुई प्रतिशतको हाराहारीमा रहेको र विद्युत्भार कटौतीको अन्त्यले उद्योग क्षेत्रमा बहार आएको समेत स्मरण गर्नुभएको थियो ।

भेटमा हरिभक्त शर्मासहितको परिसंघको टोलीले वामपन्थी शक्तिको बहुमतले देशमा राजनीतिक स्थिरता र आर्थिक विकास हुनेमा आफूहरु आशावादी रहेको बताउँदै नयाँ सरकारलाई निजी क्षेत्रको पूर्ण साथ र सहयोग रहने बताउनुभयो ।

अध्यक्ष शर्माले राजनीतिक स्थायित्व हुने बित्तिकै आर्थिक विकासले फड्को मार्ने भएकाले सोही मार्गमा क्रियाशील हुनसमेत अध्यक्ष दाहाललाई आग्रह गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्