Logo

राष्ट्रिय अर्थतन्त्रको विकास अहिलेको आवश्यकता : उपराष्ट्रपति पुन



काठमाडौँ, २७ पुस (रासस) : उपराष्ट्रपति नन्दबहादुर पुनले सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय अर्थतन्त्रको विकास गर्नु अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘चेम्बर दिवस तथा ६७ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले निरन्तरको व्यापारघाटा घटाउन चेम्बर र सरकारबीच हुने सहकार्यले सार्थकता पाउने विश्वास व्यक्त गर्नुभयो ।

उपराष्ट्रपति पुनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भर्खरै सम्पन्न भएको र अब मुलुक संक्रमणकालको अन्त्य भई स्थायित्व प्रारम्भ भएको बताउँदै “राजनीतिक स्थायित्व आर्थिक समृद्धिका लागि पहिलो शर्त हो, अब राजनीतिक स्थायित्वसँगै मुलुक आर्थिक समृद्धिको बाटोमा दु्रतगतिमा अघि बढ्नुपर्छ,” भन्नुभयो ।

अब सबै राजनीतक दलले आर्थिक समृद्धिको विषयलाई साझा एजेण्डा बनाएर अघि बढ्ने बताउँदै उहाँले कुनै पनि देशको आर्थिक उन्नतिको दिशानिर्देश त्यस देशले गर्ने निर्यात व्यापारले निर्धारण गर्ने हुँदा निर्यात बढाउन सरकारसँगै उद्योग व्यवसायी गम्भीर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उपराष्ट्रपति पुनले भन्नुभयो, “हाम्रो व्यापार नीति निर्यातमुखीभन्दा आयातमुखी देखिएको छ, चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १८ प्रतिशतले व्यापार घाटा वृद्धि भएको छ ।”

आन्तरिक उत्पादनलाई गुणस्तरयुक्त बनाउनुपर्ने तथा आयात प्रतिस्थापन गर्दै व्यापार घाटा कम गर्न सबै अग्रसर हुनुपर्नेमा जोड दिदैं उहाँले कृषि, पर्यटन जलविद्युत्, जडीबुटी र उद्योग कलकारखानालगायत क्षेत्रमा प्रशस्त सम्भावना रहेको हुँदा यी क्षेत्रमा थप लगानी बढाउन निजी व्यवसायीलाई आग्रह गर्नुभयो ।

उपराष्ट्रपति पुनले मुलुकको आर्थिक समृद्धिका लागि नेपाल चेम्बर अफ कमर्सले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै उहाँले सरकार र निजी क्षेत्रबीच चेम्बर सेतुका रुपमा रहँदै आएको बताउनुभयो ।

सो अवसरमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुको कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान १३ प्रतिशतबाट घटेर ६ प्रतिशतमा सीमित भएको उल्लेख गर्दै स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई भाषण र नारामा सीमित नगरेर व्यवहारमै उतार्ने समय आएको विचार व्यक्त गर्नुभयो ।

मुलुक संघीयतामा गएको अहिलको अवस्थामा स्थानीय, प्रदेश र संघीय करका विषयमा स्पष्टता गरिनु आवश्यक रहेको बताउँदै उहाँले हाल चेम्बरमा ८५ वटा वस्तुगत संघ, २० वटा राष्ट्रिय उद्योग वाणिज्य संघ आबद्ध रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा लाइफ टाइम एचिभमेन्ट अवार्डबाट गणेशभक्त शाख, इन्द्रभक्त मेमोरियल अवार्डबाट शिवकुमार अग्रवाल, वनवारीलाल मेमोरियल अवार्डबाट सुगतरत्न कंसाकारलाई पुरस्कृत गरियो ।

यस्तै चेम्बरबाट तेस्रो मुलुकमा जारी गरिएको उत्पत्तिको प्रमाणपत्रका आधारमा कार्गो, गलैँचा, तयारी पोशाक, हस्तकलालगायतका क्षेत्रमा योगदान पु¥याउने व्यवसायी र फार्मलाई पनि सम्मानित गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्