Logo

तत्काल चुनावको समिक्षा गरेर आगामी बाटो तय गर्न कांग्रेस जिल्ला सभापतिहरुको माग



२८ पुस, काठमाण्डौ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले चुनावमा कांग्रेसले किन हार्यो भन्ने विषयमा समिक्षा गर्नुपर्ने बताएका छन् । विहिबार सम्पन्न कांग्रेसका जिल्ला सभापतिहरुको बैठकले कांग्रेस कमजोर हुनुका कारण पत्ता लगाई सोही अनुसार अघि बढ्नुपर्नेमा जोड दिएको बर्दियाका सभापति तथा हालका सिंचाईमन्त्री संजय गौतमले जानकारी दिए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै गौतमले कांग्रेसभित्र गुटगत राजनीति मौलाउँदा कांग्रेस र लोकतन्त्रकै भविष्य खतरामा परेकोले अबका दिनमा गम्भीर भएर पार्टीभित्र सुधार गर्नुपर्ने विषयलाई सभापतिको बैठकले जोड दिएको बताए ।

कांग्रेसलाई संस्थागत रुपमा संचालन गर्नुपर्नेमा भेलाले निष्कर्ष निकालेको गौतमले बताए ।
“जिल्ला सभापतिहरु नेपाली कांग्रेसलाई मजबुत बनाउन चाहन्छौँ । संगठनलाई चुस्त, दुरुस्त बनाउन चाहन्छौँ । विगतमा कांग्रेसले गरेका कामको समिक्षा गर्न चाहन्छौँ ।” गौतमले भने ।

समिक्षाबाट जे निष्कर्ष आउँछ, त्यसका आधारमा आडिको यात्रा तय गर्नुपर्ने गौतमको भनाई छ ।
जिल्ला सभापतिको भूमिकालाई कमजोर बनाइएकाले पनि चुनावमा पराजय बेहोर्नुपरेको गौतमको आरोप छ । केन्द्र र जिल्ला दुवै सभापति मजबुत हुनुपर्ने भन्दै

गौतमले विगतमा सभापतिलाई कमजोर बनाउँदा कांग्रेसको भविष्य देख्नु गलत भएको बताए ।
बैठकले सभापतिहरुको राष्ट्रिय भेलाको माग गरिएको गौतमले बताए । अनौपचारिक रुपमा काठमाण्डौमा उपलब्ध जिल्ला सभापतिहरु एक ठाउँमा बसेर पराजयको कारण पत्ता लगाएर आगामी यात्रा तय गर्नुपर्ने कुरा उठेको गौतमले बताए ।

केन्द्रिय समितिको बैठक पनि तत्काल बोलाउनुपर्ने कुरा बैठकमा उठेको गौतमको भनाई छ । “समिक्षा तत्काल होस् भन्ने हाम्रो चाहना हो ।” गौतमले भने ।



प्रतिक्रिया दिनुहोस्