Logo

गगन थापालाई एक्ल्याउन देउवाले चाले यस्तो कदम



काठमाडौं, २८ पुस । नेपाली कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध लाग्ने युवा नेताहरुलाई उचित व्यवस्थापन गर्दै गगन थापालाई एक्ल्याउने तयारी भएको खुलासा भएको छ ।

प्रधानमन्त्री समेत रहेका सभापति देउवाले आफूविरुद्ध लागेको भन्दै गगनलाई धकेलेर भित्तामा पुर्याउने रणनीति लिएका छन् । सोही अनुसार देउवाले गगनले खास नेता मानेका युवा नेता विश्वप्रकाश शर्मालाई पार्टीको प्रवक्ता नियुक्त गरिदिए । शर्मा प्रवक्तामा नियुक्त भएसँगै अन्य युवा नेताहरुपनि अहिले सभापतिसँग नजिक हुन थालेको स्रोतको दाबी छ ।

युवा नेता चन्द्र भण्डारी र धनराज गुरुङपनि अहिले गगनलाई साथ दिन नसकिने भन्दै उक्त गुटबाट बाहिरिएको खबर आएको छ । गगनले भण्डारी र गुरुङलाई नेता मानेर अघि बढ्नेगरि देउवाविरुद्ध मुभ गरेका थिए । तर, देउवा क्याम्पका नेताहरुले चलाखी अपनाएर गगन समूहका युवा नेताहरुलाई एकपछि अर्को व्यवस्थापन गर्दै जाने रणनीति लिएपछि अहिले गगन एक्लो भएका छन् ।

गगनले निर्वाचनमा पार्टी पराजय हुनुमा देउवाको मात्रै दोष रहेको भन्दै उनीविरुद्ध खनिएका थिए । त्यतिमात्रै नभएर उनले देउवालाई तत्काल सभापतिबाट हटाउनुपर्ने भन्दै सार्वजनिक अभिव्यक्ति समेत दिएका थिए । तर, पार्टीका शीर्ष नेताहरुले पार्टी हार्नुमा देउवाको मात्रै हात र जिम्मेवारी नभएर यसकोबारेमा गम्भिर समिक्षा हुनुपर्ने माँग राख्दै आएका छन् ।

महामन्त्री डा. सशांक कोइरालाले पनि देउवालाईमात्रै दोष लगाउन नहुने धारणा राखेका थिए । तत्काल पार्टी केन्द्रिय कार्य समितिको बैठक बोलाएर सम्पूर्ण विषयमा समिक्षा गरिने नेतृत्वले विश्वास दिलाएको छ।



प्रतिक्रिया दिनुहोस्