Logo

माघ पाँच गतेभित्र प्रदेश प्रमुख नियुक्ति नभए राष्ट्रियसभाको चुनाव गराउन नसक्ने आयोगको चेतावनी



१ माघ, काठमाडौं । निर्वाचन आयोगले माघ ५ गतेभित्र प्रदेश प्रमुख नियुक्त गर्नुपर्नेमा जोड दिएको छ । ५ गतेभित्र पनि प्रदेश प्रमुख टुङ्गो नलागे माघ २४ मा हुने भनिएको राष्ट्रियसभा निर्वाचन प्रभावित हुने चेतावनी आयोगले दिएको हो ।
उक्त मितिभित्र प्रदेश प्रमुख नियुक्ति नगरिए तोकिएको मितिमा राष्ट्रियसभाको चुनाव गर्न नसकिने चेतावनी अयोगले दिएको हो ।

पटकपटक आग्रह गर्दा पनि सरकारले प्रदेश प्रमुख नियुक्त नगरेपछि आयोगले माघ ५ को अन्तिम डेडलाइन दिएको हो । यसअघि पनि आयोगले प्रदेश प्रमुख नियुक्तिमा ढिलाई भएको भन्दै सरकारलाई सचेत गराउँदै आएको थियो ।
प्रदेश प्रमुख नियुक्त भएर कार्यालय स्थापना भएपछि मात्रै आयोगले प्रदेशसभाको नतिजा बुझाउनुपर्ने हुन्छ ।

आयोगले माघ ७ गते राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली प्रकाशनको कार्यक्रम छ ।

तर, प्रदेश प्रमुख नियुक्त नहुँदा निर्वाचन आयोगले प्रदेशको समानुपातिकमा विजयीहरुको नाम सार्वजनिक गर्न सकेको छैन । किनकी प्रदेशको अन्तिम नजिता सार्वजनिक भएको ७ दिनभित्र प्रदेश प्रमुखलाई बुझाउनु पर्ने संवैधानिक व्यवस्था छ ।

साथै राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गर्न प्रदेश प्रमुखबाट प्रदेश सभा सदस्यहरुको सपथग्रहण भइसकेको हुनुपर्छ । सपथका लागि प्रदेश प्रमुख नियुक्त भएर उनले सपथग्रहण गरी कार्यालय स्थापना भइसक्नुपर्छ ।

मतदाता नामावली प्रकाशन गर्नुपूर्व प्रदेशसभाको नतिजा प्रदेश प्रमुखलाई बुझाएर उनीहरु कानुनी रुपमा मतदाता हुनुपर्ने व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस्