Logo

प्रदेश नं ४ प्रमुख कुँवरलाई स्वागत



पोखरा, ६ माघ  : प्रदेश नं ४ का प्रदेश प्रमुख बाबुराम कुँवरलाई आज पोखरामा स्वागत गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुक्रबार पद तथा गोपनीयताको शपथ लिएपछि आज पोखरा आउनुभएका कुँवरलाई पोखरा विमानस्थलको अतिविशिष्ट कक्षमा क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल, कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, पोखरास्थित कार्यालयका प्रमुख तथा सुरक्षा अधिकारीहरूले स्वागत गर्नुभएको थियो ।

विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख कुँवरले पर्यटन तथा जलस्रोतको उपयोगमार्फत यस प्रदेशलाई समृद्धिको मार्गमा लैजान सकिने उल्लेख गर्नुभयो । संविधानले व्यवस्था गरेअनुसार आइतबार प्रदेशसभाका ज्येष्ठ सदस्यलाई आफूले शपथ ग्रहण गराउने उहाँले बताउनुभयो ।

क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका प्रमुख गंगालाल सुवेदीका अनुसार प्रदेश प्रमुख कुँवरले प्रदेश नं ४ का ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुहुनेछ ।

पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले प्रदेश नं ४ का ज्येष्ठ प्रदेशसभा सदस्यलाई आइतबार बिहान नौ बजे कुँवरले शपथ ग्रहण गराउने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

प्रदेश प्रमुखको कार्यालय पार्दीमा ज्येष्ठ सदस्यले शपथ लिएसँगै अन्य सदस्यले ज्येष्ठ सदस्यबाट साविकको नगर प्रशिक्षण कार्यालयमा विहान १० बजे शपथ लिने कार्यक्रम तय गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रदेशसभा सदस्यको शपथका लागि आवश्यक तयारी भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिनुभयो । (रासस)

 



प्रतिक्रिया दिनुहोस्