Logo

नापी विभागले भन्यो : पर्सामा सीमा मिचिएको छैन



पर्सा, ८ माघ । वीरगञ्ज महानगरपालिका– १ छपकैयामा देखिएको सीमा विवादबारे नापी विभागले मुख खोलेको छ । विभागको टोली गत शनिबार वीरगञ्ज गएको थियो । छपकैयाको भकुवामा रहेको पिलर नं ३९२ को सहायक पिलर ठीक ठाउँमा नलगाएका कारण ५० बिगाहाभन्दा बढी नेपाली जग्गा भारततर्फ जान लागेको भन्दै स्थानीयवासीले सीमास्तम्भ निर्माण कार्यको विरोध गरेपछि यथार्थ बुझ्न नापी विभागका निर्देशकको नेतृत्वमा टोली वीरगञ्ज पुगेको थियो ।

सरकारी उच्चस्तरीय टोलीले सीमा नमिचिएको स्पष्टीकरण दिएको छ । नापी विभागले आइतबार एक वक्तव्य निकाल्दै नेपाली भूमि भारततर्फ नपरेको उल्लेख गरेको हो ।

विभागले जंगे पिलरसहित अन्य साना पिलर मर्मत तथा निर्माणका क्रममा नेपालीको ३० बिघाभन्दा धेरै जमिन भारतमा परेको विषयको खण्डन गर्दै दुवैतर्फको भूमि एकअर्कातर्फ पर्न गएको जिकिर गरेको हो ।

‘०४५ सालपछि स्थिर सीमा सिद्धान्त अपनाउने क्रममा केही भूभाग भारततिर पर्न गएको हुन सक्छ,’ विभागले विज्ञप्तिमा भनेको छ, ‘यस क्रममा केही भारतीय भूमि नेपालतर्फ पनि पर्न गएको हुनसक्छ । तर, भारततर्फ नेपालको धेरै भूमि गएको कुरा गलत हो ।’ सञ्चारमाध्यममा आएको समाचारलाई पनि नापी विभागले गलत भनेको छ ।

नापी विभागका निर्देशकद्वय दामोदर ढकाल र अनिल मरासिनीको नेतृत्वमा आएको टोलीले छपकैयाको भकुवामा रहेको पिलर नं ३९२ को सहायक पिलर गाडिने स्थानको नाप नक्सा गरेका थिए ।

स्ट्रिप म्यापका आधारमा सीमा निर्धारण गर्दा नेपाली नम्बरी जग्गासमेत भारततर्फ र भारतको जग्गा नेपालतर्फ आएको विभिन्न स्थानमा देखिएको जानकारी दिँदै निर्देशक ढकालले यताको उता र उताको यता आएको जग्गाको विवारणबारे लिखित प्रतिवेदन नेपाल सरकारलाई बुझाउने र नेपाली नम्बरी जग्गाधनीलाई नेपाल सरकारले कुनै न कुनै राहत अवश्य दिने निर्देशक ढकालले विश्वास व्यक्त गरेका थिए ।

भारतसँग सीमा जोडिएको पर्साको ११६ किमी क्षेत्रफलमा ४९ वटा जंगे पिलर, ४९ वटा सहायक पिलर ९६१ वटा साना सहायक पिलर गरी कूल एक हजार ५९ सीमास्तम्भ रहेको नापी विभागले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्