Logo

नेपाल–भारत सम्बन्ध जस्तो विशिष्ट छ, अब सहयोग पनि विशिष्ट हुुनुपर्छ : महतो



काठमाडौं, ११ माघ । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नेपाल–भारत सम्बन्ध विशिष्ट भएकोले आगामी दिनमा भारतले नेपाललाई विशिष्ट सहयोग गर्नुपर्नेमा जोड दिए ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले भारतको ६९ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘हामीवीच द्धिपक्षीय सम्बन्ध जसरी विशिष्ट छ, त्यसैगरि भारतले आगामी दिनमा सहयोग पनि विशिष्ट गर्नुपर्छ।’

कार्यक्रममा सँगै रहेका राजदुत पुरीतर्फ हेर्दै उनले यस्तो बताएपछि राजदुत मुसुक्क हाँसेका थिए । नेपाल र भारतवीच अति नै विशिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै महतोले भने,‘दुई देशवीच सम्बन्ध बन्नुभन्दा अघि नै जनता जनतावीच सम्बन्ध थियो, त्यसैले हामीवीच प्राकृतिक सम्बन्ध छ, नेपाल–भारत सम्बन्ध सिंहदरबार र दिल्ली दरबारबाट बनाईएको होईन, त्यसैले हामीवीच जति राम्रो सम्बन्ध भयो, त्यति नै नेपालको प्रगति हुन्छ, विकासमा टेवा मिल्छ।’

द्धिपक्षीय सम्बन्धमा धेरै समानताहरु रहेको बताउँदै उनले भने,‘शासन प्रणालीमा हामीवीच समानता छन्, तर विकासमा समानता छैन, भारत विकासमा उच्च गतिमा अघि बढेको छ, त्यसैले नेपालमा देखिएका सबै खाले समस्याहरुलाई हल गर्नुपर्छ, अधिकारको सवाल जो छ, संविधानका सवालहरु सल्टाउनुपर्छ।’ द्धिपक्षीय सम्बन्ध अति नै प्रगाढ भएको उल्लेख गर्दै महतोले भने,‘नेपाल–भारतवीच जति राम्रो सम्बन्ध हुन्छ, उति नै राम्रो विकास हुन्छ।’

भारतसँगजस्तो नेपालको अरु राष्ट्रहरुसँग सम्बन्ध नभएको बताउँदै उनले भने,‘भारत र नेपालवीच विशिष्ट सम्बन्ध छ, विकासमा मामिलामा पनि विशष्ट हुनुपर्यो।’ नेपालमा विकासको कुरा गर्दा खोक्ला राष्ट्रवाद बाधक बन्ने गरेको उनको गुनासो थियो । उनले थपे,‘यसले त सम्बन्ध बिगार्छ नि, असली राष्ट्रवाद बरु राम्रो छ, त्यतातर्फ हामीले माहोल र वातावरण बनाउनुपर्छ।’

नेपालमा प्राकृतिक प्रचुरताहरु धेरै भएकोले यसका सही सदुपयोग गर्नतिर लाग्नुपने उनको भनाई थियो । उनले भने,‘दुवै देश भारत र चीनबाट एक प्रतिशत मात्रै पर्यटक नेपाल आउने हो भने पर्यटनमा धेरै विकास हुन्छ, तर यहाँ माहोल बनाउनुपर्छ, सबैलाई स्वागत गर्ने वातावरण बनाउनुपर्छ।’ उनले नेपालमा विकासका धेरै संभावनाहरु रहेको उल्लेख गर्दै भने,‘विकासको धेरै सम्भावनाहरु छन्, जलस्रोतको धनी देश भनिन्छ, तर खोई त जनताको हितमा प्रयोग भएको ?’

विकासको मामिलामा साना तिना कुरामा अल्झन नहुने उनको भनाई थियो । उनले भने,‘भारतसँगको सम्बन्ध अब आर्थिक रुपमा अघि बढाउनुपर्छ, आर्थिक विकासका आधारमा सम्बन्धलाई अघि बढाउनुपर्छ, अधिकतम सहयोग आदानप्रदान हुनुपर्छ।’

अबको युग आर्थिक युग भएकोले देश र जनतालाई आर्थिक समृद्धितर्फ डोर्याउनको लागि नेपालले पहलकदमी लिनुपर्ने महतोको भनाई थियो । उनले भने,‘लगानीको वातावरण बनाउनुपर्छ, सोच्ने वेला आयो, आर्थिक प्रगति भारतले जसरी गरेको छ, अब नेपाललाई पनि सोही अनुसारको विशिष्ट सहयोग होस्, गणतन्त्र दिवसको अवसरमा म शुभकामना दिन चाहन्छु।’



प्रतिक्रिया दिनुहोस्