Logo

पार्टी एकता भैसक्यो, घोषणा हुनमात्रै बाँकी छ : पाण्डे



काठमाडौं, १३ माघ । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री सोमप्रसाद पाण्डेले एमाले र माओवादीवीचको पार्टी एकता भैसकेकोले अब घोषणा गर्नमात्रै बाँकी रहेको सुनाए । उनले भने,‘पार्टी एकता भैसक्यो, अब घोषणा गर्न मात्रै बाँकी छ, हामी अब पदीय अलमलमा छैनौं।’

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पाण्डेले जनताका वीचमा एमाले र माओवादीवीच एकता भैसकेकोले अब छिट्टै एकता हुने विश्वास दिलाए । उनले थपे,‘केही दिनभित्रै एकता हुन्छ, नेताहरुवीच पदीय बाँडफाँडमा कुनै विमति छैन, नेताहरु मिल्छन्।’ वाम गठबन्धनका प्रमुख नेताद्धय एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बसेर सबै कुरा टुँगो लगाउने उनको विश्वास थियो ।

पाण्डेले निर्वाचन सम्पन्न भएपछि मुलुकमा राजनीतिक परिवर्तनको एउटा अध्याय समाप्त भएकोले अब आर्थिक समृद्धिको यात्रा सुरु भएको स्पष्ट पारे । उनले भने,‘अब मुलुक समृद्धिको यात्रामा अघि बढ्यो, यसको लागि सबै दलहरुवीच हातेमालो हुन जरुरी छ।’

उनले फागुणको पहिलो हप्ताभित्रै नयाँ सरकार गठन हुने विश्वास दिलाए । पाण्डेले भने,‘वाम गठबन्धनले समृद्धिको यात्रा हाँसिल गर्नको लागि झण्डै दुई तिहाई हाँसिल गरेको छ, अब हामी सरकार बनाउँछौं।’

उनले वर्तमान सरकारले गरेका निर्णयहरुप्रति टिप्पणी गर्दै भने,‘नेपाली कांग्रेसको नियत के हो ? देउवाको गतिविधिको बारेमा हामीले भनिरहनुपर्दैन नि, उनले राजाको पाउमा लगेर बहुदलीय व्यवस्था बुझाएकै हुन्।’ देउवाले मुलुकको अर्थतन्त्र समाप्त पार्नेगरि निर्णय गरेको आरोप लगाउँदै उनले भने,‘वाम गठबन्धनको शासन चल्न नसकोस् र अब बन्ने सरकारलाई असफल तुल्याउनको लागि यस्तो निर्णय गरेको हो।’

उनले एमाले र माओवादी केन्द्रको एकतालाई तोड्ने उद्देश्यले वृद्धभत्ताको लागि ६५ वर्ष लगायतका पछिल्ला निर्णयहरु भएको आरोप लगाए । उनले भने,‘यो गलत हर्कत जनताले थाहा पाईसकेका छन्।’ उनले अब बन्ने सरकारले देउवा सरकारले गरेका कतिपयहरु नराम्रा निर्णयहरु गलत भए सच्याउने पनि जनाए ।

उनले थपे,‘हामी यो सरकारले गरेका निर्णयहरु सबै उल्टाउँछौं भनेर भन्दैनौ, तर असंवैधानिक, गैरकानूनी र गलत नियत राखेर गरिएका निर्णयहरुमा पूर्नविचार गर्छौं, सच्याउनसम्म सक्छौं।’



प्रतिक्रिया दिनुहोस्