Logo

२ नम्बरमा फोरमको नेतृत्वमा सरकार बन्छ, मुख्यमन्त्री मै हुँ : राउत



काठमाडौं, १३ माघ । संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबुर राउतले देउवा नेतृत्वको सरकार काम चलाउ सरकार भएकोले अहिले गरिएका पपुलिष्ट निर्णयहरु जायज नभएको स्पष्ट पारेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘६५ वर्ष पुगेकाहरुलाई वृद्धभत्ता दिने जुन निर्णय भयो, यो पपुलिष्ट निर्णय हो, यसले आर्थिक भार पार्छ, हुन त अब आउने सरकारले यी निर्णयहरु उल्टाउँछौं भनेर भनिसकेको छ, त्यसैले यो निर्णय जायज छैन।’

२ नम्बर प्रदेशका मुख्यमन्त्रीका दाबेदार रहेका उपाध्यक्ष राउतले राजपा र फोरमले मिलेर २ नम्बर प्रदेशमा सरकार बनाउने विश्वास दिलाए । उनले भने,‘फोरमको तर्फबाट मुख्यमन्त्री बनाउने भन्नेबारे दलहरुवीच करिब करिब सहमति भएको छ, तर औपचारिक भएको छैन।’

उनले आफू संसदीय दलको नेतामा उम्मेद्धवारी दिने पनि जनाए । उनले भने,‘को मुख्यमन्त्री बन्ने कुरा पार्टीले निर्णय गर्ने हो, म बरिष्ठ भएकोले नाताले तपाई नै मुख्यमन्त्री बन्नुहोस् भन्ने आवाजहरु छन्।’

फरक प्रसँगमा उनले राष्ट्रिय सभाको निर्वाचनमा तालमेलको विषयमा एमालेसँग आफूहरुको कुरा हुँदा एमालेका नेताहरुले संविधान संशोधनबारे पूनः काईते कुरा गरेको आरोप लगाए । उनले भने,‘एमालेका नेताहरुले संविधान संशोधन आवश्यकत्ता र औचित्यको आधारमा हुन्छ भन्नुभयो, यो काईते कुरा हो।’



प्रतिक्रिया दिनुहोस्