Logo

स्वराजसँगको भेटमा उपेन्द्रले गरे ओली सरकारमा सहभागी हुने संकेत



काठमाडौं, १९ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीचको वान–टु–वान भेटवार्ता भर्खरै सम्पन्न भएको छ ।

सोल्टी होटलमा भएको भेटमा विदेशमन्त्री स्वराजले चुनावमा फोरमले पाएको सफलताका लागि बधाइ दिएको स्रोतले बतायो । त्यस्तै भेटमा नेपाल–भारत सम्वन्ध मजबुत बनाउनेबारे कुराकानी भएको छ ।

स्रोतका अनुसार उनीहरुवीच नेपाल–भारत सम्बन्ध अब आर्थिक साझेदारीका माध्यामबाट अघि बढ्नुपर्नेमा जोड दिए । यादवले स्वराजसँगको भेटमा भनेका थिए, ‘द्धिपक्षीय सम्बन्ध राम्रो, सुमधुर बनाउनुपर्छ, नेपालमा भारत विरोधी गतिविधि हुन दिन्नौं।’ सुमधुर सम्बन्ध बनाउनुको अलावा अब भारतले नेपालको आर्थिक विकासमा सहयोग बढाउनुपर्ने पनि यादवले आफ्नो धारणा राखेका थिए ।

त्यस्तै यादवले हालै सम्पन्न भएको निर्वाचनमा जनताले वाम गठबन्धनलाई मत दिएको भन्दै आफूहरु वाम गठबन्धनको नेतृत्वमा नै नयाँ सरकार बनोस् भन्ने पक्षमा रहेको धारणा राखेका थिए । उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘बाम गठबन्धन त्यसमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनोस् भन्ने हाम्रो चाहना हो, संविधान संशोधन भए हामी ओलीको नेतृत्वमा सरकारमा जान सक्छौं, तर हामी त संशोधनको दृढ छौं।’

यद्धपी स्वराजसँगको भेटबाट बाहिरिने क्रममा अध्यक्ष यादवले आफूहरुवीच द्धिपक्षीय सम्बन्ध राम्रो बनाएर जानुपर्नेबारे कुरा भएको भन्दै उम्किन चाहे । उनले भने,‘दुई देशवीचको सम्बन्धको कुरा भयो, स्वास्थ्य अवस्था बुझ्नुभयो, मैले ठिक छु भने, उहाँको पनि स्वास्थ्य अवस्था सोधे ।’
करिब ३० मिनेट भएको भेटवार्तामा उनीहरुवीच खुलेर कुरा भएको थियो ।



प्रतिक्रिया दिनुहोस्