Logo

प्रदेश दुईको राजधानी माग्दै वीरगञ्ज बन्द, तोडफोड र आगजनी



माघ २१, काठमाण्डौ । वीरगञ्जलाई प्रदेश नम्बर दुईको राजधानी बनाउनुपर्ने माग गर्दै आयोजन गरिएको वीरगञ्ज बन्दका क्रममा सवारी साधानमा तोडफोड गरिएको छ । बन्दको कारण जनजीवन प्रभावित भएको छ । बन्दकर्ताले तीनवटा सवारी साधनमा तोडफोड गरेका हुन् ।

आजै प्रदेश नम्बर दुईको प्रदेशसभाको पहिलो बैठक जनकपुरमा बस्दैछ । सरकारले प्रदेश २ को अस्थायी राजधानी धनुषाको जनकपुरधाम तोकेको थियो । तर वीरगञ्जबासीले यसलाई स्विकार गरेका छैनन् ।

बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले घण्टाघर र आदर्शनगर क्षेत्रमा सवारी साधनमा तोडफोड गरेका छन् । बन्दकर्ताहरुले बिहानैदेखि सडक अवरुद्ध पारेका छन् । ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरिएको छ ।

बन्दकर्ताहरुले वीरगञ्जको घण्टाघर, माईस्थान, आदर्शनगर, मुर्लीचोक, प्रतिमा चोक, बहुअरी लगायत क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका छन् । लामो तथा छोटो दुरीका सवारी साधनसँगै बजार, शैक्षिक संस्था र कलकारखाना ठप्प छन् ।

बन्दका क्रममा एम्बुलेन्स, दमकल लगायत अत्यावश्यक सवारी साधन भने सञ्चालन हुन दिइएको छ । मोटरसाइकल, रिक्सा पनि सञ्चालनमा छन् ।

यसअघि संघर्ष समितिले सरकारले जनकपुरलाई अस्थायी राजधानी घोषणा गरेको भोलिपल्ट अर्थात माघ ४ गते पनि बन्द आह्वान गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्