Logo

राष्ट्रियसभाको निर्वाचन सम्पन्नसँगै हाम्रो दायित्व पूरा भयो : मन्त्री गौतम



दाङ, २४ माघ । सिचाँईमन्त्री सञ्जय गौतमले आज राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएसँगै आफूहरुको निर्वाचन गराउने दायित्व पूरा हुने बताउँदै अब नयाँ सरकार छिट्टै गठन हुने विश्वास व्यक्त गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपाल-दाङ शाखाले दाङको घोराहीमा आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गौतमले यस्तो बताएका हुन् । उनले भने,‘अबको मुलुकको यात्रा विकास र समृद्धिको यात्रा हो, संविधानसभाले बनाएको संविधानसँगै निर्वाचनका सम्पूर्ण प्रक्रिया पुरा भएको छ । अब सायद चाँडै नै नयाँ सरकार बन्नेछ । यसमा म विश्वस्त छु।’

शाखाका अध्यक्ष शरद रेग्मीको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले जनताले आफूहरुलाई दिएको जनादेशको सम्मान गर्दै रचनात्मक र सशक्त प्रतिपक्षको भूमिका खेल्न कांग्रेस तयार रहेको विश्वास दिलाए । उनले भने,‘हामी सशक्त प्रतिपक्षको भूमिका खेल्छौं, उहाँहरुले सरकार बनाउनुहोस्, हाम्रो धेरै धेरै शुभकामना छ ।’ त्यतिमात्रै नभएर मन्त्री गौतमले एमाले र माओवादी केन्द्रवीच चाँडै एकता पनि होस् भन्दै शुभकामना समेत दिए ।

गौतमले सरकार गठनमा ढिलाई आफूहरुको कारणले नभएको समेत जिकिर गरे । उनले भने,‘तर बिडम्बना हाम्रो कारणले सरकार गठनमा ढिलाई भएको हो भनेर बारम्बार अभियोग लागेको छ, म यही मञ्चबाट भन्न चाहन्छु, हाम्रो कारणले गदा सरकार गठनमा विलम्ब भएको होईन् । निर्वाचनको परिणामपछि राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणीय कि बहुमतीय भन्नेमा विवाद भएकोले हो।’

उनले आफूहरुले मात्रै नभएर माओवादी केन्द्रको समेत सहमतिमा एकल संक्रमणीय मतका आधारमा निर्वाचन हुनुपर्छ भनेर अध्यादेश राष्ट्रपतिसमक्ष पेश गरेको स्मरण गराए । गौतमले भने,‘हामीले पार्टीलाई केन्द्रविन्दूमा राखेर निर्णय गरेको होईन, हामीले त समावेशी–समानुपातिक प्रणालीलाई सही ढंगले उपयोग गर्नुपर्छ भनेर यसो गरेका हौं, एमाले–माओवादीको विरोधका कारण सरकार गठनमा ढिलाई भएको हो ।’

यद्धपी उनले आज राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएसँगै आफूहरुको दायित्व सकिने स्पष्ट पारे । उनले भने,‘निर्वाचन आयोगले सम्पूर्ण मतपरिणाम बुझाइसकेपछि, नयाँ सरकार गठनको बाटो खुल्ला भयो । हामी त बरु संवैधानिक ढंगले अघि बढिरहेका छौं ।’

उनले सरकारले अस्थायी मुकाम तोक्नुपर्ने बाध्यता भएकोले निर्णय गरेको उल्लेख गर्दै यसमा विरोध हुनु स्वभाविक भएको तर्क गरे । उनले भने,‘अस्थायी मुकाम तोक्नैपर्ने बाध्यता थियो । क्याविनेटमा भएका छलफलका विचमा तोकेको हो । स्थायी मुकाम तोक्ने अधिकार प्रदेश सभालाई छ ।’

प्रदेशको राजधानी कहाँ बनाउने ? भन्नेबारे व्यक्तिको रायले यसमा कुनै भूमिका नखेल्ने उनको जिकिर थियो । उनले थपे,‘प्रदेश सभाले लिने भूमिकापछि म पनि भुमिका खेल्छु । व्यक्तिकेन्द्रित भएर सोच्नुहुँदैन् । अब यही पाँच नम्बर प्रदेशको कुरा गर्नुहुन्छ भने मलाई त कोहलपुर भैदिएहुन्थ्योजस्तो लाग्छ । ’

स्थायी मुकाम प्रदेश सभाले तोक्ने भएकोले यसमा नयाँ ढंगले सोच्न पनि सकिने मन्त्री गौतमको विश्वास थियो । उनले भने,‘नयाँ शहरहरु घोषणा गर्ने भनिएको छ, राजमार्गको दुई वटामा नयाँ शहर बनाएरपनि राजधानी बनाउनसक्छौं, राजमार्गमा मेगा सिटी बनाएर अघि बढ्ने कुरा भएको छ, यसो हुँदा राजमार्गमा बन्ने नयाँ शहरलाई राजधानी बनाएर संसारकै उदाहरणीय हुनसक्छ । लमही पनि प्रदेशको नयाँ राजधानी हुनसक्छ । विज्ञहरुले सोध्नुपर्छ ।’

उक्त कार्यक्रम क्लका सदस्य धु्रबराज न्यौपानेको सहजीकरणमा सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्