Logo

आयोगले राष्ट्रियसभा निर्वाचनको अन्तिम परिणाम आज राष्ट्रपतिलाई बुझाउने



२८ माघ, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको अन्तिम परिणाम आज राष्ट्रपतिसमक्ष बुझाउँदैछ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने तीनजना बाहेक अन्य ५६ जनाको नाम राष्ट्रपति समक्ष पेश गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रियसभाको निर्वाचनसँगै राजनीतिक दलले संघीय संसदमा पुर्याउनुपर्ने ३३ प्रतिशत महिलाको कोटा निर्धारण भइसकेकाले अब निर्वाचन परिणाम बुझाउन समस्या नरहेको आयोगले जनाएको छ ।

निर्वाचन आयोगले बिहान ११ बजे शीतल निवासमा राष्ट्रपतिलाई राष्ट्रियसभा सदस्यको निर्वाचनको अन्तिम परिणाम बुझाउँदैछ । तीनजना मनोनयनका लागि सरकारले सिफारिस गरे पनि दलहरुसँग सहमति नगरी एकलौटी सिफारिस गरिएकाले राष्ट्रपति थप छलफल गरेर निर्णय लिने पक्षमा देखिएकी छन् ।

निर्वाचन आयोगले ढिलोमा फागुन ५ गतेभित्र प्रतिनिधिसभाको पनि अन्तिम निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउनेछ । दलहरुले समानुपातिकतर्फ निर्वा्चित हुनेहरुको नाम सोमवार साँझसम्म बुझाइसक्नुपर्नेछ । दलहरुले बुझाएका नाम कानुनी रुपमा ठीक भएमा सोमवार वा मंगलबारै अन्तिम परिणाम आयोगले बुझाउनेछ ।

आयोगले प्रतिनिधिसभाका निर्वाचित सदस्यहरुको अन्तिम परिणाम बुझाएसँगै नयाँ सरकार गठनको बाटो खुल्नेछ ।



प्रतिक्रिया दिनुहोस्