Logo

माओवादीबीच एकताका लागि छलफल जारी : वैद्य



काठमाडौँ, १ फागुन (रासस) : नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले क्रान्तिकारी कम्युनिष्ट बीचको एकता आजको ऐतिहासिक आवश्यकता भएको बताउनुभएको छ ।

क्रान्तिकारी माओवादी र नेपाल कम्युनिष्ट पार्टीले २३ औँ जनयुद्ध दिवसका आवसरमा संयुक्त रुपमा आज यहाँ आयोजना गरेको कार्यक्रममा महासचिव वैद्यले एकताका लागि विभिन्न पार्टीसँग छलफल चलिरहेको र त्यो सकारात्मक दिशामा अघि बढिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विप्लवजी, मोहनविक्रम सिंहजी र ऋषि कट्टेलजीसँग पार्टी एकतासँगै संयुक्त रुपमा आन्दोलनका कार्यक्रम लैजाने बारेमा छलफल चलिरहेको छ ।”

उहाँले नेकपा (माओवादी केन्द्र)ले नेकपा(एमाले)सँग पार्टीलाई विलय गराउन लागेको आरोप लगाउँदै त्यहाँ रहेका सच्चा क्रान्तिकारीहरुले विद्रोह गर्ने बेला आएको बताउनुभयो । उहाँले भन्नुभयो, “संसद्वादविरुद्ध लडेको पार्टीले संसद्वादको पक्षमा रहेको एमालेसँग एकता गर्दैछ, अब त्यहाँ रहेका इमान्दार नेता, कार्यकर्ताले सोच्ने बेला आएको छ ।”

कार्यक्रममा नेकपाका नेता हेमन्तप्रकाश ओलीले क्रान्तिकारी कम्युनिष्टबीचको एकताका लागि नेतृत्वदायी भूमिका खेल्न महासचिव वैद्यलाई आग्रह गनुृभयो ।

माओवादी केन्द्रका नेता गोपाल किराँतीले अहिलेसम्म आफूले पार्टी नछोडे पनि एमालेसँग पार्टी एकता भएमा आफूले पार्टी छोड्ने निष्कर्षमा पुगेको बताउनुभयो ।

माओवादी केन्द्र परित्याग गर्नुभएका नेता लोकेन्द्र विष्ट मगरले अहिले क्रान्तिका लागि मैदान खाली रहेको भन्दै माओवादीधारमा रहेका पार्टीबीच एकता गरी त्यो मैदानमा होमिनुपर्ने धारणा राख्नुभयो ।

वामपन्थी नेता तथा लेखक विश्वभक्त दुलाल‘आहुती’ले विज्ञान र प्रविधिको विकासलाई जोडेर सोहीअनुरुपको नयाँ क्रान्तिको तयारी अहिलेको आवश्यकता भएकामा जोड दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्