Logo

पार्टी एकता प्रक्रिया अन्तिम चरणमा, आज ठोस कदम चल्छ : प्रवक्ता भुसाल



फागुन ७, काठमाण्डौ । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले एमाले–माओवादीबिचको पार्टी एकता प्रक्रिया अन्तिम चरणमा पुगेको दाबी गरेकी छिन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै भुसालले एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबिचको आइतबारको छलफल सकारात्मक भएको दाबी गरेकी हुन् ।

सोमबार पनि दुई अध्यक्षबिच छलफल गरेर पार्टी एकता समायोजन समितिको बैठक बसेर एकता प्रक्रियाबारे ठोस निर्णय गर्ने तयारी भइरहेको भुसालको दाबी छ ।

“पद मुख्य कुरा होइन । नमिलेका कुरा वैचारिक र राजनीतिक कुरा थिए । त्यस विषयमा दुई अध्यक्षबिच गहन छलफल भएको छ ।” भुसालले भनिन् ।

नमिलेका विषयलाई आन्तरिक बहसको विषय बनाएर आगामी महाधिवेशनमा कार्यदिशालाई थप परिमार्जन गर्ने विषयमा समझदारी बनेको उनको भनाई छ ।

जनताको बहुदलीय जनवाद र २१औँ शताब्दीको माओवादलाई आन्तरिक बहसको रुपमा अगाडि बढाइने भुसालको भनाई छ ।
एमाले अध्यक्ष ओली नेतृत्वका सरकारमा माओवादी पनि जाने भुसालले स्पष्ट पारेकी छिन् ।

“तिथीमिति त अहिले नतोकौँ । जनताले अनुमोदन गरेअनुसार हामी सरकार गठन र पार्टी एकता दुवै गर्छौँ ।” भुसालले भनिन् ।



प्रतिक्रिया दिनुहोस्