Logo

आफू निकट नेताहरुको सल्लाहपछि संसदीय दलको नेतामा आफैँ अघि सर्ने देउवाको तयारी



फागुन ११, काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार बोलाइएको केन्द्रिय समिति बैठकको पूर्वसन्ध्यामा आफू निकट नेताहरुसँग छलफल गरेर शसक्त ढंगले आफ्नो आलोचनाको प्रतिवाद गर्ने तयारी गरेका छन् ।

शुक्रबार आफ्नै निवास बुढानिलकण्ठमा आफ्नो गुटका नेताहरुलाई बोलाएर आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरेका थिए ।
चुनावमा कांग्रेसले पराजय बेहोरेपछि सभापति देउवाको सर्वत्र आलोचना भएपछि रणनीति तय गर्न छलफल गरेका हुन् ।

सभापति देउवाका कमजोरीका कारण कांग्रेसले चुनाव हारेको आरोप पार्टीभित्रैबाट लाग्दै आएको छ ।

तर देउवा पक्षीय नेताहरुले पार्टीको पराजयको कारण सभापति मात्रै नभएकाले आलोचनाको खण्डन गर्नुपर्ने सुझाब दिएका छन् ।

छलफलमा सहभागि एक नेताले दिएको जानकारीअनुसार संसदीय दलको नेतामा देउवा आफैँ अघि सर्ने निर्णय गरेका छन् ।

आफू निकट नेताहरुले दिएको सल्लाहका आधारमा देउवाले रणनीति तय गरेको ति नेताले बताए ।

पार्टीभित्र रामचन्द्र पौडेल र प्रकाशमान सिंहले देउवाकै कारण चुनावमा पराजय भोगेको, आफू निकट नेताहरुलाई मात्रै काखी च्यापेर कांग्रेसलाई कमजोर बनाएको, सबै कांग्रेसजनको नेता बन्न नसकेको लगायतका आरोप लगाउँदै नेतृत्व छोड्न दबाब दिइरहेका छन् ।

पार्टीका युवा नेताहरुले पनि अब देउवाले नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवाज उठाउँदै आएका छन् ।

तर देउवाले भने सबै आलोचकसँग सशक्त प्रतिवाद गर्ने तयारी गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्