Logo

आफ्नो समुहलाई एमालेकरण गरेर प्रचण्डले शहिदको अपमान गरे : किराँती



फागुन १६, काठमाण्डौ । नेकपा माओवादी केन्दका नेता गोपाल किराँतीले प्रचण्ड कम्पनीले आफ्नो समुहलाई एमालेमा लगेर बुझाएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै किराँतीले प्रचण्डले एमालेकरण गरेको माओवादी केन्द्रलाई आफूहरुले सम्हाल्ने प्रयास गरिरहेको बताए ।

माक्र्सवाद, लेलिनवाद र माओवादको सिद्धान्त, पहिचानको मुद्दा र माओवादी केन्द्र आफूहरुको भएको दाबी गर्दै किराँतीले केही दिनमा प्रचण्डको पार्टी अहिलेको माओवादी केन्द्र नरहने बताए ।
प्रचण्ड र केपी ओली कम्युनिष्ट नभएको जिकिर गर्दै उनले माक्र्सवाद र लेलिनवादको अभ्यास नै नगरेको बताए ।
“एमालेले आफ्नो सिद्धान्त कायम गरेको छ । प्रचण्ड समुहले छोडेको छ । इतिहासमा ठूलो बेइमानी भएको छ । प्रचण्ड कम्पनी एमालेकरण भएर विलयमा जाने निश्चित भएको छ । अब हामी नेकपा माओवादी केन्द्र पुर्नगठन गछौँ ।” किराँतीले भने ।

गणतन्त्र निर्माणसम्म प्रचण्ड क्रान्तिकारी भएको तर एमालेसँग सात बुँदै सहमति गरेपछि प्रचण्ड सकिएको किराँतीको तर्क छ ।
प्रचण्ड दक्षिणपन्थी काण्डमा हाम्फालेको आरोप लगाउँदै उनले जनयुद्ध शहिदको अपमान गरिएको बताए ।

आफू पदका लागि प्रचण्डसँग टाढिएको भन्ने टिप्पणीको खण्डन गर्दै किराँतीले भनेका छन्, “म सहजै मुख्यमन्त्री बन्न सक्थेँ । प्रतिनिधिसभामा पनि सुनसरी एकमा एमालेलाई छाडिदिएँ । प्रचण्डनिकट नेताहरुले राष्ट्रियसभा सदस्य बन्नका लागि पनि आग्रह गरेका थिए । मैले चाहिएन भनिदिएँ ।”

“माओवाद र पहिचानको मुद्दा छोड्ने भनेपछि मेरो दिमागले काम गर्दैन । त्यसैले दक्षिणपन्थी काण्डमा म मिल्न सकिन ।” किराँतीले भने ।
अबका दिनमा मोहन वैद्य, नेत्रविक्रम चन्द, आहुतिलगायतका नेतासँग मोर्चाबन्दी गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

आफूहरु क्रान्तिकारी खेमाको एउटा घटक बन्ने किराँतीले बताए । क्रान्तिकारी विद्यार्थी संगठनबाट माओवादी पुनर्गठनको सुरुवाता गरिने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्