Logo

देउवाका कारण कांग्रेसले हारेको होइन, पुनः एकपटक देउवाकै नेतृत्व आवश्यक : विश्वकर्मा



फागुन १८, काठमाण्डौ । नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाले दाबी गर्नु अहिलेको आवश्यकता भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता विश्वकर्माले पार्टीलाई समन्वय र एकता कायम गर्दै राष्ट्रिय राजनीतिलाई उचित निकास दिनका लागि देउवा नै दलको नेता बन्नुपर्ने तर्क गरे ।

पार्टीभित्रैबाट देउवाले दलको नेतामा दाबी गर्नुहुँदैन भन्ने आवाज उठेको छ नि भन्ने धमलाको प्रश्नमा उनले भने, “अहिले सभापतिले नै पार्टीको नेतृत्व गरिरहनुभएको छ । आवश्यकता पनि सभापतिकै हो । उहाँले जिम्मेवारीलाई ग्रहण गर्नुभएको छ ।”

चुनावमा कांग्रेस दोस्रो दल बने पनि धेरै मत अन्तरले पछाडि नपरेको तर्क गर्दे विश्वकर्माले पुनः एकपटक देउवाकै नेतृत्व आवश्यक रहेको बताए ।
“कांग्रेस हारेको होइन । आफ्नो ठाउँमा शसक्त छ । वाम गठबन्धनका कारणले हामीले नराम्रो पराजय भोगेका हौँ । त्यसैले यो अप्ठ्यारो अवस्थामा पार्टीमा जिम्मेवार र शसक्त नेतृत्वको आवश्यकता छ ।” विश्वकर्माले भने ।

पदाधिकारी मनोनयनदेखि विभाग गठन गर्नेसम्मका काम दुई वर्षसम्म गर्न नसक्ने देउवा कसरी जिम्मेवार र शसक्त नेतृत्व बन्न सक्छन् भन्ने धमलाको प्रश्नमा विश्वकर्माले देउवाको बचाउ गर्दै भने, “पदाधिकारी मनोनयन गर्न नसक्नुको कारण देउवा मात्रै होइन । पार्टीभित्र जुन भूमिका जुनजुन नेताहरुले खेल्नुभएको छ, उहाँहरुको पनि कारण छ । सहमति गरेर जान सकिन्छ ।”

स्थानीय निकायको चुनावमा माओवादीसँग गठबन्धन गर्दा पनि सभापति देउवालाई नै दोष लगाइएको र गठबन्धन नगर्दा पनि देउवालाई नै दोष दिनु उचित नभएको उनको तर्क छ ।

कांग्रेस अहिले सामुहिक नेतृत्वमा रहेकाले चुनाव हारेको दोष सभापतिलाई मात्र लगाउन नमिल्ने उनले बताए ।
“केन्द्रिय कार्यसमितिले चुनाव हार्नुको जिम्मेवारी लिनुपर्छ । सभापति पद शीर्षस्थ भएकाले देउवाले ज्यादा जिम्मेवारी लिनुपर्छ ।” विश्वकर्माले भने ।



प्रतिक्रिया दिनुहोस्