फागुन ९, काठमाण्डौ । चैत २३ गतेदेखि हुने प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणले दुई दशबिचको सम्बन्धमा नयाँ आयाम थपिने विश्वास गरिएको छ ।
प्रधानमन्त्री केपी ओलीले २३ चैतमा भारत भ्रमण गर्ने तय भएको छ ।
भ्रमण तीन दिन अर्थात् २५ गतेसम्म हुनेछ । दुई देशका परराष्ट्र मन्त्रालयको आन्तरिक गृहकार्यपछि ओलीको भ्रमण मिति तय भएको हो ।
प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच २४ चैतमा हैदराबाद हाउसमा भेटवार्ता हुने बताइएको छ । सोही दिन ओलीले भारतका राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति वैंकया नायडुसहित भारतीय उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
यसअघिका प्रधानमन्त्रीको भ्रमणमा दिल्लीबाहिरसमेत जाने कार्यक्रम हुने गरेकामा ओली भने २५ चैतमा दिल्लीबाटै स्वदेश फर्किने कार्यक्रम छ । तर, दुवै देशले औपचारिक रूपमा भ्रमणको मिति घोषणा गर्न बाँकी छ ।
विगतका प्रधानमन्त्रीहरु भारत भ्रमणमा जाँदा एक हप्ता बस्ने गरेको भए पनि यसपटक ओली तीन दिने भ्रमणमा जान लागेका हुन् । भ्रमण अवधि छोटो भए पनि उपलब्धि भने विगतकोभन्दा धेरै हुने बताइएको छ ।
ओलीले भ्रमणको तयारी सुरु गरिसकेका छन् । उनले भ्रमणलाई उपलब्धिपूर्ण बनाउनका लागि विभिन्न व्यक्ति र निकायसँग छलफल सुरु गरेका हुन् ।
यसअघि ३ असोज ०७२ मा नयाँ संविधान जारीपछि पहिलोपटक प्रधानमन्त्री भएका ओली ७ देखि ११ फागुनसम्म भारतको राजकीय भ्रमणमा गएका थिए । उनीपछिका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले पनि राजकीय भ्रमण गरेका थिए । देउवाभन्दा अघि राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको राजकीय भ्रमण गरेकी थिइन् ।