काठमाडौँ, १३ चैत । नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको स्वास्थ्य अवस्था बुझ्न र उपचारको व्यवस्थापनका लागि दुई नेता आज भारत गएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको हिजोको बसेको बैठकले शंकर भण्डारी र रमेश लेखकलाई भारत पठाउने निर्णय गरेअनुसार उहाँहरु आज भारत जानु भएको हो ।
उहाँहरुसँगै नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी पनि भारत प्रस्थान गर्नुभएको छ । उहाँहरु केहीबेर अगाडी भारत प्रस्थान गर्नु भएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । बैठकले खड्काको गम्भीर स्वास्थ्य स्थितिप्रति चिन्ता व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गरेको छ ।
मिर्गौला, छाती र नसाको समस्याबाट पीडित खड्काको उपचार भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा भइरहेको छ । उहाँलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन पहिलो साता उहाँलाई नयाँदिल्ली लगिएको हो ।