चैत १८, काठमाण्डौ । नेपाली कांग्रेसका दिवंगत नेता तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्काको आज अन्तिम संस्कार गरिँदै छ । अपराह्न तीन बजेपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।
मिर्गौला, फोक्सो र नसा सम्बन्धी समस्याबाट पीडित खड्काको उपचारको क्रममा शुक्रबार नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको थियो । उनको पार्थिव शरीर शनिबार राति ९ बजे काठमाडौं ल्याइएको छ ।
बेलायतमा बस्दै आएका खुमबहादुरका छोरा अनुराग खड्का नेपाल नआइसकेकाले उनको पार्थिव शरीरलाई सानेपास्थित निवासमा राखिएको छ ।
छोरा अनुराग लण्डनबाट आउँने क्रममा प्लेन छुटेकाले निर्धारित समयमा आउन नसक्ने भएका छन् । छोार ढिला आउने भएपछि खड्काको अन्तिम संस्कार पनि ढिला हुने कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिएका छन् ।
खड्काको पार्थिव शरीरलाई आइतबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने कार्यक्रम तय भए पनि छोराको आगमन ढिला हुने भएपछि अन्तिम संस्कार गर्न केही ढिला हुन सक्ने पौडेलले बताएका हुन् ।
साढे दुई वर्षअघि दिल्लीको एपोलो अस्पतालमा खड्काको मिर्गौला प्रत्यारोपण गरिएको थियो । गत फागुनमा उनको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि दिल्ली लगिएको थियो । दिल्ली लगिएको करिब ४० औं दिनमा ६८ वर्षको उमेरमा खड्काको निधन भएको हो ।
खड्काको निधनमा कांग्रेसको जारी केन्द्रीय समितिको बैठक स्थगित गरिएको छ । आइतबार बिहान ११ बजे बस्ने तय भएको थियो ।