काठमाडौं, २३ चैत । तीन दिने भारत भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली नयाँदिल्ली प्रस्थान गरेका छन्। नेपाल वायुसेवा निगमको नियमित उडानबाट प्रधानमन्त्री ओली ४५ सदस्यीय टोलीको नेतृत्व गर्दै दिल्ली प्रस्थान गरेका हुन्।
ओलीको भ्रमण दलमा पत्नी राधिका शाक्यसहित उद्योग वणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलगायत छन्। असंलग्न राष्ट्रका मन्त्रीहरुको बैठकको सिलसिलामा अजरबैजान पुगेका मन्त्री ज्ञवाली अजरबैजानबाट नयाँदिल्ली आएर भ्रमण दलमा सामेल हुनेछन्।
यसैगरी विभिन्न दलका सांसदहरु, उद्योगी व्यवसायीहरु, सञ्चारकर्मी र कलाकारहरूको जम्बो टोलीसहित प्रधानमन्त्रीलाई प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरालगायत उच्च पदस्थ सरकारी अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाई गरे।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ओली भारत भ्रमणमा गएका हुन्। ओलीको यो पहिलो विदेश भ्रमण हो । ओली भ्रमण सकाएर आइतबार स्वदेश फर्कने छन् ।