काठमाडौं, २० जेठ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रकृति र प्रविधिको उचित प्रयोग गर्न सरकारसमक्ष आग्रह गरेका छन् ।
राजधानीको तिनेकुनेस्थित् सिद्धार्थ कटेजमा नेपाल विधार्थी संघ तथा नेविसंघ सिटिईभिटिको आयोेजनामा ‘समृद्ध नेपालका निम्ति प्राविधिक शिक्षाको महत्व र भावी योजना’ विषयक एकदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता पौडेलले उक्त आग्रह गरेका हुन् ।
नेविसंघ केन्द्रीय सदस्य एवम् सिटिईभिटिका संयोजक अर्जुन बमको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अथिति समेत रहेका पौडेलले प्राविधिक शिक्षामा लगानी गर्ने कुरामा सरकारले ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।
उनले भने,‘समृद्धिको आधार भनेको प्रकृति र प्रविधि हो, यसलाई उचित रुपमा प्रयोग गर्नुपर्छ, युरोपका देशहरुमा धेरै पहिले समृद्धिको अनुभव भईसक्यो, हाम्रो देशमा प्रविधिको भोक लागिरहेको छ, अब विस्तारै नेपाल समृद्धिको बाटोमा अघि बढ्छ ।’
वरिष्ठ नेता पौडेलले अघि थपे,‘म केही दिन पहिले कर्णाली प्रदेशमा पुगेको थिएँ, त्यहाँको जन–जीवन विचारा नै छ, तर त्यहाँको प्राकृतिक स्रोतसाधनहरु अधिक छ, त्यो प्रकृतिसँग प्रविधिको भेट गर्नसक्ने हो भने, त्यसको उचित प्रयोग गर्न सकिए कर्णालीमात्रै होईन देश नै धनी बन्छ, अहिले अरबौं व्यापार घाटा छ, परनिर्भरता छ, यसको अन्त्य गर्ने पहिलो आधार नै प्रकृति हो, यसको उचित सदुपयोग नै हो ।’
उनले कांग्रेस पार्टी ठिक भएको खण्डमा मुलुकको राजनीति पनि ठिक हुने तर्क अघि सारेका छन् । उनले भने,‘मुलुकको भलाई र लोकतन्त्रको रक्षाको लागि कांग्रेस बलियो र सुध्रेको हुनुपर्छ, कांग्रेस ठिक हुनुपर्छ ।’
त्यस्तै कार्यक्रममा नेविसंघका पूर्व सभापति रञ्जित कर्णले कांग्रेस पार्टी र भातृ संगठनको नेतृत्व असल व्यक्तिहरुको हातमा पुगेमात्रै लोकतन्त्र सुरक्षित हुने बताए ।
उनले भने,‘झुट र बेईमानहरुले सरकार सञ्चालन गरेका छन्, जनतालाई झुट बोलेर आफ्नो भलाई खोजिरहेका छन्, त्यसैले हाम्रो पार्टीको नेतृत्व असल व्यक्तिको हातमा पर्नुपर्छ अनि यस्ता गलत प्रवृतिको अन्त्य गर्न सकिन्छ, पार्टीभित्रको बिवादलाई अन्त्य गर्नु आजको मुख्य आवश्यकत्ता हो ।’
त्यस्तै नेविसंघका नेता डिल्लीराम सुवेदीले शिक्षामा भैरहेको दलालीकरणको अन्त्य गर्नुपर्नेमा जोड दिए । उनले भने,‘शिक्षामा राजनीति हुनुपर्छ, त्यसको फरक मत होला तर शिक्षामा दलालीकरण हुनुहुँदैन, गतवर्ष सम्पन्न चुनावमा वाम गठबन्धनले शिक्षामा २० प्रतिशत बजेट छुट्याउने भनेको थियो, तर बजेटमा करिब १० प्रतिशतमात्रै बजेट छुट्याईएको छ, सरकारले जनतालाई झुक्याईरहेको छ, वैदेशिक रोजगारमा पुगेका यूवाहरुको पसिना र रगतसँग साटिएको रिमिट्यान्सले हाम्रो अर्थतन्त्र धानेको छ, यस्तो स्थितिमा सरकारले केवल आश्वासनमात्रै बाँडिरहेको छ ।’
कार्यक्रममा नेविसंघका नेता दीपक भण्डारी, क्षितिज भण्डारी लगायतले आफ्ना धारणा राखेका थिए ।
तस्विर : मुकुन्द कालिकोटे