काठमाडौं, २७ जेठ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अहिले विकास निर्माणको काम युद्धस्तरमा भैरहेको जानकारी दिएका छन् ।
आइतबार हिमालय टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम “धमलाको हमाल” मा पत्रकार धमलासँग कुरा गर्दै मन्त्री महासेठले यस्तो खुलासा गरेका हुन् । उनले भने,“सरकारले अघि सारेको विकासका कुरा नारामा मात्रै सिमित हुँदैन । समयले देखाउँछ । हामीले सय दिन भर्खरै मनाऔं । यो सरकार जादुगर होईन । जसरी स्विच दबाउने बित्तिकै बत्ती बल्छ । बत्ति बलेझैं विकास र अन्य क्षेत्र रातारात परिवर्तन हुन्छ भन्ने होईन् । तर अहिले विकास निर्माणको काम युद्धस्तरमा भैरहेको छ, जुन तपाईले पनि देख्नुभएको छ।”
मन्त्री महासेठले आगामी ५ वर्षभित्र यो देशलाई निर्वाचनमा आश्वासन र प्रतिबद्धता जाहेर गरे बमोजिम प्रतिव्यक्ति आम्दानी अहिलेको भन्दा डबल डिजिटमा पुर्याउँने उनले दाबी गरे ।
उनले भने,”काम गर्नको लागि सबैभन्दा ठूलो ईच्छाशक्ति हो, हाम्रो पार्टीभित्र नेताहरु एक ठाउँमा उभिएर विकासको कुरा गर्नुभएको छ, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यू एक ठाउँमा उभिएर विकास र समृद्धिको कुरा गर्नुभएको छ । अन्य नेताहरु झलनाथ खनाल, माधव नेपाल र वामदेव गौतम सबको एउटै सोच र चिन्तन छ । साझा चिन्तन छ । देशलाई समृद्धितर्फ कसरी अघि बढाउने भन्नेबारे।”
उनले आगामी पाँच वर्षभित्र यो देशको अनुहार कायापलट बनाउने दाबी समेत गरे । उनले सरकारले तीन महिनाको अवधिमा उल्लेखनीय राम्रा कामहरु र उपलब्धि हाँसिल गरेको समेत दाबी गरे । उनले भने,“यो सरकारले सय दिनमा के गरेन ? त्यो भन्नुहोस् । जलस्रोत, यातायात, भौतिक पूर्वाधार लगायतका धेरै क्षेत्रमा काम गरेको छ । परिणाम त आजको भोलि पाईँदैन् नि।”
मुलकुले धेरै समयपछि एउटा स्थायी सरकार पाएको बताउँदै मन्त्री महासेठले भने,“२०४७ सालपछि बल्लबल्ल स्थायी सरकार आएको छ । सय दिनमा यो सरकारले जति काम गर्यो, अहिलेसम्म अन्य कुनै सरकारले गरेका थिएनन्, पूर्वाधार, यातायात, जलस्रोत लगायतका क्षेत्रमा हामीले काम गरेर देखाईसकेका छौं।”
आफू मन्त्री भएदेखि नै यातायात क्षेत्रमा विगत २५ वर्षदेखि जकडिएर रहेको सिण्डिकेट तोड्न पहल गरेको पनि उनले सुनाए । “सिण्डिकेट तोड्ने पहल म मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै सुरु गरेको हुँ, २५ वर्षदेखि जकडिएर रहेको सिण्डकेट हामीले तोड्यौं । तर अझैपनि जनताको समस्या पूरा भएन । तर, पूरा हुनको लागि मैले सार्वजनिक रुपमा भनेको छु । हामी जादुगर होईनौं । यातायत क्षेत्रमा हामीले धेरै ठूलो फड्को हानेका छौं । बसको परमिट कसरी दिने, बसको सिट कस्तो हुने, कोड कस्तो हुने, सुरक्षाको व्यवस्था, के हुने यी सबै काम गर्नको लागि अहिले मन्त्रालयले एउटा कार्यदल बनाएको छ, १५ दिनभित्र कार्यदलले प्रतिवेदन दिएपछि, हामी त्यही अनुसार काम अघि बढाउँछौं ।”
एउटा स्मार्ट लाईसेन्स लिनको लागि एक वर्ष कुनुपर्ने अवस्थाको आफूले अन्त्य गरेको पनि उनले जिकिर गरे । उनले भने,“यही महिनाको जेठ २० गतेदेखि त्यो बाधा हटेको छ । दुई महिनाभित्र अब हामी स्मार्ट लाईसेन्सको समस्या क्लियर गर्छौं । आज टा«यल दिनेले पर्सीनै लाईसेन्स पाउँछन् । अहिले तीन तीन सिफ्टमा काम भैरहेको छ । तीन लाख स्मार्ट कार्ड वितरण यो दुई महिनाभित्र गर्छौं ।”
उनले अहिले आफूहरुसँग जे जति स्रोत र साधन छ त्यही अनुसार काम गर्ने समेत विश्वास दिलाए । उनले भने,“दुई महिनाभित्र सबै समस्या हल हुन्छ, तीन महिनापछि कुनै गुनासो सेवाग्राहीहरुले गर्नुपर्दैन् । यातायात क्षेत्रमा अलिकति कमीकमजोरीहरु छन्, ती सबै हल गर्नेगरि म अघि बढेको छु।”
नेकपाका स्थायी समिति सदस्य समेत रहेका मन्त्री महासेठले आफूहरुले अहिले ट्याक्सीलाई पनि मार्क गरेको सुनाए । “अब मिटरमा जाँदैनौं भन्ने ट्याक्सीहरुलाई २४ घण्टाभित्र दर्ता खारेजी र आर्थिक जरिवाना गर्छौं।” उनले भने ।
सार्वजनिक यातायात प्रयोग गर्नेहरुलाई समस्या रहेको स्विकार्दै उनले भने,“हामी अब राति ११ बजेसम्म बस सेवा सञ्चालन गर्ने कुरा गरिरहेका छौं । यो पहिलो फेजमा ११ बजे रातिसम्म सेवा दिन्छौं, अनि दोस्रो फेजमा समय बढाउँछौं । हामी टुरिष्टमय वातावरण बनाउन गैरहेका छौं । नेपाल आउने पर्यटकहरुलाई अब कुनै असुविधा हुँदैन ।”
हिजोका सरकारले भ्रष्टाचार तथा बेथितिहरु सहेर बसेपनि अब आफूहरुले कुनैपनि किसिमका भ्रष्टाचार नसहने उनको जिकिर थियो । उनले थपे,“हिजो जे भयो भयो, अब नेपालमा त्यो हुँदैन । यो सरकारले कुनैपनि हालतमा भ्रष्टाचार र भ्रष्टाचारीलाई सहन गर्दैन्, हामी भ्रष्टाचारीहरुको सञ्जाल तोड्छौं । हिजो थियो होला, आजपनि छ होला । नेपाल सानो छ । कुन कमिसनखोरीको कुन नेतासँग सम्बन्ध छ, को कुन नेतासँग टाँसिएका छन्, त्यो थाहा हुन्छ ।”
आफ्नो पार्टीका नेताहरु अग्निपरिक्षामा उत्रिन तयार रहेको उनको भनाई थियो । उनले भने,“हामीले चुनावमा जाहेर गरेका प्रतिबद्धता पूरा गर्न सकेनौं भने जनताले हामीलाई अर्कोपटक कहाँ पुर्याउँछन भन्ने कुरामा हामी पूर्ण सचेत छौं, त्यसैले जनतासामू गरेका वाचा अनुसार नै काम गर्छौं, पाँच वर्षभित्र मुलुकको कायापलट गर्छौं।”
उनले अब निर्माण व्यवसायीहरुको सिण्डिकेटपनि छिट्टै तोडिने उद्धघोष गरे । उनले भने,“अब कसैले धन्धा नमाने हुन्छ । विगतका सरकारले गरेका कमिकमजोरीहरु सुधार गर्नुपर्छ, हामी सुधार गर्छौं, अब निर्माण व्यवसायमा रहेको सिण्डिकेट पनि तोडिन्छ, यो सरकार जुन दिन गठन भयो, त्यही दिनदेखि द्रुत गतिमा कामहरु भएका छन्, सडकहरु पीच भएका छन् । पहिलेभन्दा धेरै सुधार भएका छन् । मेलम्चीको पानी ल्याउन पाईप विछ्याउँदा भत्काईएका सडकहरु अहिले निर्माणधि छन् । मर्मत हुन्छ । साधन तथा स्रोत सबै चाहिन्छ । हामी काम गर्छौं ।”
अब विगतजस्तो कमजोरी हुँदै नहुने उनको जिकिर छ । उनले थपे,“३ देखि ५ वर्षभित्र सडक भत्कियो भने त्यही ठेकेदारहरुले सडक बनाउनुपर्छ, मर्मतसम्भारको जिम्मा सम्बन्धित निर्माण कम्पनीले गर्नुपर्छ । निर्माण व्यवसायीहरुबाट कमिकमजोरीहरु भएका छन्, तर व्यवसायीहरुले मात्रै एक्लैले कमजोरी गर्न सक्दैन ्। हाम्रा प्राविधिकको पनि कमजोरी भएको छ ।”
उनले निर्माण व्यवसायीहरुलाई सरकारले समयमै भुक्तानी दिएको पनि दाबी गरे । उनले भने,“सरकारले समयमै पैसा दिएको छ । पेमेन्ट रोकेको छैन । उहाँहरुले भनेजस्तो असार र साउन कुर्नुपर्दैन् । सम्झौता गर्ने वित्तिकै २० प्रतिशशत मोबिलाईजेशन चार्ज लिने गर्छन, त्यो दिएर हामीले गल्ती गर्यौ, अब चार्ज दिँदैनौं । व्यवसायीहरुले त्यो रकम निकासा गरेपछि काम नगरेर जग्गा किन्ने, घर बनाउने, गाडी चढ्ने काम भएका छन् । मोवाईलिजेशन चार्जमा व्याज लगाउँछौं ।”
आफू र गृहमन्त्रीबीच कुनै मनमुटाव नभएको पनि उनको जिकिर छ ।
त्यस्तै फरक प्रसँगमा मन्त्री महासेठले आफ्नो कुनै व्यापार तथा व्यवसाय नभएको कुरा समेत स्पष्ट पारे । उनले थपे,“यदि मैले कहीँपनि लगानी गरेको पुष्टि हुन्छ भने म जनतासामू जस्तोसुकै सजाय भोग्न पनि तयार छु ।”