Logo

ओलीको चीन भ्रमण : रेल र उर्जा प्राथमिकतामा



असार ५, काठमाण्डौ । परराष्ट्रविद हिरण्यलाल श्रेष्ठले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला काठमाण्डौमा रेल ल्याउने विषयले प्राथमिकता पाउने दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठले चीनसँग वैकल्पिक विजुलीको बजारको लागि पनि नयाँ अध्याय सुरु हुने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक चीन भ्रमणका लागि चीन प्रस्थान गरेका छन् ।

चीन भ्रमणका दौरान प्रधानमन्त्रीले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । यस्तै, ऊर्जा, रेल्वे लगायतका सम्झौता पनि भ्रमणका अवसरमा हुँदैछ । द्धिपक्षीय सम्झौता हुनेबारे प्रधानमन्त्रीले ओलीले सोमबार संघीय संसद्को बैठकमा जानकारी गराएका थिए ।

भ्रमणमा केरुङ–काठमाडौँ–लुम्बिनी रेलमार्ग को डीपीआर निर्माणको सम्झौता हुनेछ ।

भूकम्पपछि बन्द रहेको तातोपानी नाका सुचारुदेखि थप केही नाका खोल्ने विषयमा समझदारी हुने पनि प्रधानमन्त्रीले यसअघि बताइसकेका छन् ।

यस्तै, सन् २०१६ को भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे पनि द्धिपक्षीय छलफल हुनेछ । भ्रमणका अवसरमा नेपाल र चीनबीचका परियोजना अनुगमन तथा समस्या समाधानका विषयमा सम्झौता हुनेछ । मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त विषयमा निर्णय गरिसकेको छ ।

चीनसँगको सम्बन्ध असल छिमेकी र विकास साझेदारको रुपमा अगाडि बढ्ने श्रेष्ठले बताएका छन् ।

नेपालको आर्थिक विकासका लागि चिनियाँ लगानी बढाउनका लागि यो भ्रमण फलदायी हुने श्रेष्ठको विश्वास छ । चिनियाँ पर्यटकको नेपाल आगमन पनि बढ्ने उनले दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्