असार १४, काठमाण्डौ । नेपाल वायुसेवा निगमले पहिलोपटक वाइडबडी विमान नेपाल भित्र्याएको छ । निगमले बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ए ३३०–२००’ सिरिजको विमान अवतरण गरेको हो । नयाँ विमानलाई ‘अन्नपूर्ण’ नाम दिइएको छ ।
नयाँ विमानलाई विमानस्थलमा मन्त्रालय र निगमका अधिकारीहरुले स्वागत गरेका थिए । विमानको पूजाआजासमेत गरिएको छ ।
निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग किनेको हो । विमानको लागत २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर अर्थात २१ अर्ब ९० करोड रूपैयाँ छ ।
नयाँ जहाजमा विजनेश क्लासका १८ र इकोनोमी क्लासका २५६ सिट छन् । प्रत्येक सिटका अघि टचस्क्रिन सुविधासहितको स्मार्ट इन्फोटेन्मेन्ट सिस्टम छ जसमा नेपालीसहित विभिन्न भाषामा राखिएका गीत, संगीत तथा चलचित्र हेर्न सकिनेछ ।
विमानलाई दुई जना विदेशी पाइलटले उडाएर ८ घण्टाको यात्रा तय गर्दै काठमाडौं ल्याइर्पुयाइदिएका हुन् ।
यो विमानलाई दुवई, हङकङ, दोहा, क्वालालाम्पुरलगायतका स्थानमा उडाउने तयारी गरिएको नेपाल वायु सेवा निगमले जनाएको छ ।
निगमले सरकारको जमानीमा सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर दुई वाइड बडी विमान खरिद गर्ने निर्णय गरेको थियो । अर्को वाइड बडी विमान पनि एक महिनाभित्रै आइपुग्ने छ ।