असार २७, काठमाण्डौ । १२ दिनदेखि अनशनरत डा.गोविन्द केसीलाई काठमाण्डौ ल्याउने विषयमा प्रधानमन्त्री केपी ओलीले छलफल सुरु गरेका छन् ।
आफ्ना माग पूरा नभएसम्म अनशन बसिरहने अडान लिएर जुम्लामा अनशन बसिरहेका केसीको अवस्था जटिल बन्दै गएपछि ओलीले काठमाण्डौ ल्याउने तयारी गरेका हुन् ।
ओलीले यस विषयमा वालुवाटारमा विभिन्न सरोकारवाला पक्षलाई बोलाएर छलफल गरेको बताइएको छ ।
सम्बन्धित समाचार :
केसीको जीवनरक्षाको माग गर्दैे मुलुकभरिका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले बुधबारदेखि आन्दोलन गर्ने भएका छन् ।
चिकित्सकको छाता संस्था नेपाल चिकित्सक संघले देशभरिका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आ–आफ्नो स्वास्थ्य संस्थामा बुधबारदेखि विरोध कार्यक्रम संचालन गर्न आव्हान गरेको हो ।
यता चिकित्सा क्षेत्र सुधारसम्बन्धी माग राखेर जुम्लामा आमरण अनशनरत डा. केसीले आफू वार्ताका लागि तयार रहेको बताएका छन् ।
वार्ताका लागि गोविन्द केसी तयार नभएको सरकारी भनाइ प्रकाशमा आइरहेका बेला केसीले विज्ञप्तिमार्फत त्यसको खण्डन गरेका छन् । उनले आफू वार्ताका लागि सधैं तयार रहेको भन्दै सरकारलाई यसको गृहकार्यमा जुट्न आग्रह गरेका छन् ।
केसीले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, “यतिका दिनसम्म संवेदनहीन र गैरजिम्मेवारीपूर्ण रुपमा माग पूरा गर्न कुनै पहल नगरेको सरकारका तर्फबाट जिम्मेवार व्यक्तिहरुले हामी वार्तामा आउन नचाहेको भनेर दिएको अभिव्यक्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ । हामी कुनै पनि बेला वार्ताका लागि तयार छौं ।”
केसीले सरकार तयार भएको अवस्थामा तत्काल वार्ता टोली पठाउने समेत प्रष्ट पारेका छन् ।
दलीय वा अन्य स्वार्थ वा पूर्वाग्रह छाडेर तीन करोड नेपालीको हित सुनिश्चित हुने गरी सोच्न पनि उनले सरकारलाई सुझाएका छन् ।
चिकित्सा शिक्षा ऐन तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम शुरु हुनुपर्ने लगायत माग राखेर जुम्लामा डा. केसी अनशन बसेको आज १२ दिन पुगेको छ । उनको स्वास्थ्य बिग्रिँदै गएको छ ।