असार २८, काठमाण्डौ । हिजो साँझदेखि परेको अविरल बर्षाले भक्तपुरका वस्तीहरु डुबानमा परेका छन् ।
बालबालिकादेखि वृद्धसम्म बाढीको सिकार भएका छन् । एउटा घर पहिरोले पुर्दा एकै परिवारका तीन जनाको मृत्युसमेत भयो ।
हजारौँ घरभित्र पानी पस्दा जनताको उठिबास भएको छ । तर सरकारी संयन्त्र भने बेखबर जस्तै देखिएको छ । राहत र उद्धारको काम प्रभावकारी भएको छैन ।
घर, विद्यालय, अस्पताल, सडक सबै जलमग्न हुँदा जनजीवन प्रभावित हुँदा पनि सरकारका मन्त्रीहरु त्यस ठाउँमा पुगेनन् ।
सुरक्षा निकायले गरेको उद्धार प्रशंशनीय छ । सुरक्षा निकाय पनि सरकारकै अंग हो । तर जनताबाट चुनिएका प्रतिनिधी जति खटिनुपथ्र्यो, त्यति खटिएको देखिएन ।
वर्षात्मा बाढी आउनु सरकारको दोष होइन । ढल व्यवस्थापन हुन नसक्दा हरेक वर्ष काठमाणडै उपत्यकाका वस्तीमासमेत बाढी पस्ने गरेको छ ।
सरकारले जनताको हितमा काम गर्ने भन्दै ठूला ठूला सपना देखाए पनि ढल र सडक व्यवस्थापनमा भने ध्यान दिन सकेको छैन ।
समुद्रमा नेपालकै पानीजहाज चलाउने भनेर प्रधानमन्त्रीले धेरै पटक भाषण गरे । तर अहिले संघीय राजधानीकै शहर जलमग्न भएको छ । कतिपयले अब यही जलमग्न ठाउँमा पानी जहाज चलाउने होला भनेर प्रधानमन्त्रीलाई व्यङ्ग्य गरिरहेका छन् ।
जनताको कष्ठ समाधानको उपाय खोज्नुको साटो सत्तारुढ दलको नेताहरु प्रधानमन्त्रीलाई व्यङ्ग्य गरिएकोमा आपत्ति जनाउन थालेका छन् ।
तर बाढीबाट हुने क्षति न्युनिकरणका लागि अहिलेसम्म कुनै पनि ठोस कदम चालिएको छैन ।
मृतकलाई एक लाख
यता, भक्तपुरको चाँगुनारायण नगरपालिका–७ मझुवा बागेहिटीमा पहिरोले टहरा पुरिँदा मृत्यु भएकाका परिवारलाई जनही १ लाख रुपैयाँ राहत दिने भएको छ । गृह मन्त्रालयले बिहीबार विज्ञप्ति निकालेर अविरल वर्षापछि आएको पहिरोले टहरो पुरिँदा मृत्यु भएका एकै घरका तीन जनालाई जिल्ला विपद् व्यवस्थापन समितिबाट जनही एक लाख राहत वितरण गर्ने निर्णय भएको जनाएको छ ।