Logo

गगन थापाले संसदमा भने-मैले वार्ता भाँडेको होइन, सहमति खोज्ने प्रयास गरेको हुँ



साउन १०, काठमाण्डौ । डा. गोविन्द केसीको अनशनलाई प्रत्यक्ष समर्थन गरेर आन्दोलनमा नै सहभागि भएका कांग्रेस सांसद थापाले आफूले नै डा. केसीको वार्ता टोलीलाई विधेयक फिर्ता नलिँदासम्म वार्तामा नबस्ने अडान छाड्न आग्रह गरेको तर, आफैंलाई वार्ता भाँडेको आरोप लागेको गुनासो गरेका छन् ।

शुक्रबार संसदमा बोल्दै थापाले डा. केसीसँग सहमति गरेकोमा सरकारलाई धन्यवाद दिए । तर आफूले १० वर्षसम्म प्रतिबन्ध, ५ वटा मेडिकल कलेजलाई सम्बन्धनको विकल्प नभएको भन्दै गालीगलौज, षड्यन्त्रकारी, भँडुवा भनेर लखेट्ने काम भएको स्मरण गर्दै उनले अन्तिममा आफूले जे भन्यो त्यही अनुसार सरकारले केसीसँग सहमति गरेको दाबी गरे ।

कांग्रेसले संसदमा केसीका माग पूरा गराउनुपर्छ भनेर अडान लिएकै कारण सरकार केसीसँग सम्झौता गर्न बाध्य भएको उनले बताए ।

उनले भने, ‘कांग्रेस संसदमा उठिरहृयो र सरकार डा. केसीलाई उठाउन बाध्य भयो ।’

सत्तारुढ दलका नेताहरुले ‘कांग्रेसले षड्यन्त्र गरेको थियो तर, हामी सहमति गर्न सफल भयौं’ भनेको सुनेको भन्दै थापाले व्यङ्ग्यात्मक तरिकाले सरकारलाई बधाई दिए ।

थापाले अब डा. गोविन्द केसीलाई हार्न दिन नहुने बताए । उनले नौं बुँदे सहमति गरेसँगै तोडिएको अनसनलाई नै अन्तिम बनाउन सरकार र संसदलाई आग्रह पनि गरे ।

एउटै व्यक्ति एउटै विषयका लागि पटकपटक अनसन बस्नु सबैका लागि लज्जाको विषय भएको उनले बताए ।

थापाले भने, ‘हामी सम्झौता गर्छौं तर, पालना गरिरहेका छैनौं । त्यसैले यो पटक अनसनको श्रृङ्खलालाई अन्तिम बनाऔं । आज जे कुुरा सरकारको तर्फबाट संसदमा पेश गरिएको छ, संसदको सम्पत्ति भएको छ । हामी सरकार र संसदमाथि विश्वास गर्छौं ।’

कांग्रेस चिकित्सा शिक्षा अध्यादेशका कारण नैतिक बन्धनमा बाँधिएको भन्दै उनले सहमतिअनुसार संसदबाट कानुन बनाउन पूर्ण सहयोग गर्ने बचन दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्