Logo

डिएलए चुनाव : शशांकको उम्मेदवारलाई देउवाले समर्थन गरेपछि पौडेल झस्किए



उम्मेदवारद्धय केदार कार्की र सिताराम केसी

साउन १३, काठमाण्डौ । नेपाली कांग्रेस निकट प्रजातान्त्रिक वकिलहरुको संगठन नेपाल प्राजातान्त्रिक वकिल संगठन डिएलएको दशौँ अधिवेशन हिजोदेखि सुरु भएको छ ।

नवलपुरको गैँडाकोटमा सुरु अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । त्यसका लागि आज मतदानको कार्यक्रम रहेको छ । संगठनको नेतृत्वका लागि अध्यक्ष पदमा पाँच जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

सम्बन्धित समाचार : 

डिएलएमा रामचन्द्र-शशांक आमनेसामने !

डिएलएमा चुनावी सरगर्मी, टीकेप्रथा नमान्ने वकिलहरुको चेतावनी

वरिष्ठ नेता रामचन्द्र पौडेलले डिएलएका पूर्व अध्यक्ष यदुनाथ खनालले अघि सारेका उम्मेदवार सिताराम केसीलाई समर्थन गरेका छन् । त्यसैगरी महामन्त्री डा. शशांक कोइरालाले केसीविरुद्ध केदार कार्कीलाई अघि सारेका छन् ।

महामन्त्री कोइरालाले अघि सारेका उम्मेदवार कार्कीलाई पार्टी सभापति शेरबहादुर देउवालेसमेत समर्थन गरेपछि पार्टीको भावी नेतृत्वको लागि पनि समिकरण फेरबदल हुने संकेत देखिएको छ । देउवाले पछिल्लो समय आफू आलेचित हुँदै गएकाले अबको नेतृत्व कोइरालालाई दिन खोेजेका हुन् कि भन्ने आशंका डिएलएको चुनावले गराएको छ ।

कोइरालाले अघि सारेका उम्मेदवारलाई देउवाले समर्थन गरेपछि पौडेल पनि झस्किएका छन् । देउवालाई असफल सभापतिको आरोप लागिरहँदा अबको नेतृत्व आफूमा आउने आशा गरेका पौडेलले कोइरालालाई समर्थन गरेर देउवाले पुनः आफूलाई नेतृत्वमा जानबाट रोक्ने हुन् कि भन्ने आशंका गरेका हुन् ।

यसअघि कोइरालाईसमेत पौडेल पक्षका मानिन्थे । तर डिएलएको चुनावबाट पौडेल र कोइराला दुई कित्तामा पुगेका छन् ।

पछिल्लो समय भातृ संगठनमा देउवा समुहका उम्मेदवाहरु पराजित हुन थालेपछि देउवाले प्रत्यक्ष रुपमा आफ्नो समर्थनमा उम्मेदवार अघि सार्न छोडेको यो चुनावले देखाएको छ ।

यता कृष्णप्रसाद सिटौला पक्षले पनि यो चुनावमा छुट्टै उम्मदवार अघि सारेको छ । सिटौला पक्षबाट अध्यक्षका लागि रामकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

यसअघि भएको नेपाल कर्मचारी युनियन र ट्रेड युनियन कांग्रेसको चुनावमा पौडेल र सिटौला समुहबाट एउटै उम्मेदवार थिए । उनीहरुले जितेपछि देउवा कमजोर बनेका थिए । यही कुरालाई मध्यनजर गर्दै यसपटकको चुनावमा देउवाले कोइराला समुहका उम्मेदवारलाई समर्थन गरका हुन् ।

डिएलएकै नेतृत्वका लागि स्वर्गीय नेता खुमबहादुर खड्का पक्ष मानिने योगेन्द्र बहादुर अधिकारीले पनि उम्मेदवारी दिएका छन् । उनलाई ससंदीय दलकी सचेतक पुष्पा भुसाल लगायतको समर्थन छ ।

प्रह्लाद कार्कीले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

आज हुने चुनावको नतिजाले कसलाई विजयी बनाउँछ, त्यो हेर्न बाँकी नै छ । जसले जितेपछि कांग्रेसभित्रको कुन चाँही गुट बलियो छ भन्ने कुरा चाँही स्पष्ट हुनेछ । यो नतिजाले कांग्रेसको आगामी महाधिवेशनको समिकरण पनि अनुमान गर्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्