Logo

देशैभर आज कांग्रेसले विरोध प्रदर्शन गर्दै, यस्ता छन् सरकारमाथिका आरोप



साउन १५, काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकासहित देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछ । सरकार सर्वसत्तावादको बाटोमा अघि बढेको भन्दै कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो ।

कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, अधिनायकवादको विरोध र महंगी नियन्त्रणका एजेण्डा अघि सारेको छ ।

३० भन्दा बढी देशहरुमासमेत सरकारका गलत कामका विरुद्धमा खवरदारी गर्ने कांग्रेसले जनाएको छ ।

कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारको अधिनायकवादी शैलीका विरुद्ध आज एक दिन विरोध गर्न लागिएको बताए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै काँग्रेसले आन्दोलनका लागि नौ मुद्धा र तीन आरोप अगाडी सारेको महतले जानकारी दिए ।

“संबैधानिक व्यबस्था अनुसार सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने, अधिकार केन्द्रीकरण गर्नु नहुने, शक्ति पृथकिकरणको सम्मान गरिनु पर्ने, संबैधानिक निकायलाई कार्यकारीको छाँयामा पार्नु नहुने, बिधिसम्मत तरिकाले अघिल्लो सरकारले गरेका नियुक्ति खारेज गर्नु नहुने मुद्धा उठाएका छौँ ।” महतले भने ।

त्यसैगरी पुर्ववर्ती देउवा सरकारले गरेको ६५ वर्षमा वृद्ध भत्ता दिने निर्णय उल्ट्याउन नपाईने, मिर्गौला, स्पाइनल इन्जुरी, क्यान्सर तथा मुटुरोगका गम्भीर बिरामीलाई मासिक पाँच हजार रुपैया जीविकोपार्जन भत्ता दिने र भूकम्प पीडितलाई थप एक लाख राहत दिने निर्णय कार्यान्वयन गर्नुपर्ने माग पनि काँग्रेसले अघि सारेको उनले छ ।

संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयकमा तत्कालीन सरकारले जारी गरेको अध्यादेशमा भएको व्यवस्थालाई समावेश गर्न दवाव दिन पनि काँग्रेसले खवरदारी गर्नेछ ।

त्यसैगरी प्रदेशको नामाकरण तथा स्थायी राजधानीको बारेमा तत्काल निर्णय गर्न पनि काँग्रेसले सडक र सवै प्रदेश सभाबाट दवाव दिने भएको छ ।

काँग्रेसले सरकारलाई मुख्य तीन आरोप लगाएको छ । हरेक क्षेत्रमा करको आतंक मच्चाएको तर मूल्यवृद्धिप्रति गम्भीर नभएको, नागरिक अधिकार तथा स्वतन्त्र प्रेसको अधिकारलाई कुण्ठित गर्न थालेको, बाढीपहिरो पीडितका आवश्यकता र समस्याप्रति सरकार उदासीन रहेको काँग्रेसको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्