भदौ १७, काठमाण्डौ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल पटक पटक अवरुद्ध हुने गरेको छ । साना होस वा ठूला, दुर्घटनाका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमार्फत हुने उडान र अवतरण अवरुद्ध हुने गरेको छ । विमानस्थलको विकल्प अझै तयार नहुँदा नेपालको अवाई उडानको क्षवी नै धमिलिने गरेको छ ।
२१ जना यात्रु बोकेर नेपालगञ्जबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि आएको यति एयरको विमान दुर्घटनामा पर्यो । मानवीय क्षति नभएपछि विमान दुर्घटनाका कारण उडान र अवतरण अवरुद्ध हुन पुग्यो । यतिको जेट स्ट्रीम, ९ एनएचडब्लु जहाज शनिबार राती साढे ८ बजे धावनमार्गबाट चिप्लिएर दुर्घटना हुँदा विमानस्थल १२ घन्टासम्म बन्द गर्नुपरेको थियो । यसरी विमानस्थल अवरुद्ध भएको पहिलो घटना होइन ।
टर्किस एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा लामो समयसम्म उडान र अवरतण रोक्नुपर्दा लाखौँ यात्रुहरुले कष्ट भोगेका थिए । त्यसबेला नेपालमा अर्को वैकल्पिक अन्तराष्ट्रिय विमानस्थलको आवश्यकतामाथि निकै बहस भयो । सरकारमाथि चारैतिरबाट यसका लागि दबाब पनि सृजना भएको थियो । तर झण्डै ४ वर्ष वितिसक्दासम्म पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प तयार भएको छैन । यद्यपी केही विमानस्थल निर्माणको काम भने सुरु भइसकेको छ ।
पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निमार्णको काम अन्तिम चरणमा रहेपनि अन्तराष्ट्रिय विमानस्थलकै विकल्प भने अझै पनि देखिएको छैन । भैरहवामा बन्ने भनिएको गौतम वुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको कामले पनि अपेक्षाकृत गति लिने सकेको छैन ।
विमानस्थल निर्माणको आयोजनालाई सरकारले राष्ट्रिय गौरवका आयोजनामा समावेश गरेको छ । तर निर्माणको प्रगति भने गौरव गर्न लायक छैन । त्रिभुवन विमानस्थलमा दैनिक ४०० पटक विमानले उडान र आवतरण गर्ने गरेको छ । त्रिभुवन विमानस्थलबाट आन्तरिक उडानलाई अन्यत्र सार्नसकेको खण्डमा अन्तराष्ट्रिय उडान र अवतरणको संख्या बढाउन सकिन्छ ।
यसो गर्न सकिए पर्यटन प्रवद्र्धनमा टेवा पुग्छ । साथै वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई चाँडो सम्पन्न गरेर सञ्चालनमा ल्याउन सकेमा अन्तराष्ट्रिय स्तरमा विग्रिएको छवि सुधार गर्नुका साथै नेपालको आकास कालोसूचीबाट हटाउन समेत सहायक हुन सक्नेछ । यसैले अब सरकारले वैकल्पिक विमानस्थललाई छिटो व्यवस्थापन गरी सञ्चालनमा ल्याउनु जरुरी छ ।