Logo

विद्यासुन्दर शाक्यलाई प्रश्न : भत्केको सडक बनाउने कि वाइफाइ फ्रि ?



भदौ १७, काठमाण्डौ । काठमाडौं महानगरपालिकाले जनप्रतिनिधी पाएपछिको एक वर्षमा उल्लेखनीय काम गर्न नसकेको भनेर आलोचना भइरहेको छ । महानगरको मेयरको उम्मेदवार बन्दा धेरै सपना बाँडेका विद्यासुन्दर शाक्यले चुनाव जितेपछि भने मतदातालाई सन्तुष्ट पार्ने गरी कुनै पनि काम गर्न सकेनन् । महानगरले जनताका लागि तत्काल गर्नुपर्ने कामभन्दा पनि चर्चामा आउनका लागि केही काम भने गर्ने गरेको छ ।

हनुमान ढोका, पशुपतिनाथ, स्वयम्भु, बौद्धलगायतका ६ वटा धार्मिक तथा पर्यटकीय स्थलमा फ्रि वाईफाई सेवा सुरु गरिएको छ । काठमाडौं महानगरपालिकाले आईतबारदेखि हनुमानढोका, पशुपतिनाथ, स्वयम्भू, बौद्ध, बालाजु बाईसधारा उद्यान र शंखपार्कमा फ्रि वाईफाई सेवा सूरु गरेको हो । काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले वाइफाइसेवाको आरम्भ गरेका हुन् । ति स्थानमा नागरिकलाई इन्टरनेटसँग जोड्नका लागि गरिएको काम प्रशंशनीय छ । तर महानगरले जनताका लागि कुन काम गर्दा बढि लाभदायक हुन्छ भन्ने कुरामा भने हेक्का राख्न सकेको पाइदैन ।

महानगरभित्रका नागरिकले दैनिक रुपमा अनेकौँ समस्या भोग्नुपर्ने बाध्यता छ । अस्तव्यस्त सडक र सवारी, धुलो मैलो, हिलो लगायतका समस्या ज्यूँका त्यूँ छन् । तर मेयर भने वाइफाई सेवा विस्तार गर्नमा केन्द्रित देखिन्छन् । वाइफाइ उद्घाटनका क्रममा मेयर शाक्यले काठमाण्डौलाई स्मार्ट सिटी बनाउने भाषण गर्न भने छुटाएनन् ।

उपत्यकाको सडक गल्ली गल्लीमा फोहोरको डंगुर थुप्रिएको छ । काठमाडैमा पानी पर्दा अधिकांश सहायक सडक हिँड्नै नसक्ने गरी अस्तव्यस्त हुने गरेको छ । यस्ता समस्यातिर पनि महानगरको ध्यान जाने हो भने जनताले पक्कै पनि राहतको अनुभव गर्ने थिए । शाक्यले क्लिन सिटी, स्मार्ट सिटी बनाउने प्रतिवद्धता व्यक्त गरेको एक वर्षभन्दा बढि भइसकेको छ ।
तर त्यसको कार्यान्वयनको पाटो भने शुन्य जस्तै छ । महानगरभित्र सार्वजनिक शौचालयको समेत प्रबन्ध गर्न नसकेको बेला निःशुल्क वाइफाइले जनतालाई के राहत देला र मेयरज्यू ।



प्रतिक्रिया दिनुहोस्