भदौ ३०, भैरहवा । भैरहवा स्थित विशेष आर्थिक क्षेत्र सेजमा दर्ता भएका उद्योग मध्ये ६ वटाले तोकिएको अवधिमा भू–बहाल शुल्क नबुझाएपछि अनुमति पत्र खारेज गर्ने चेतावनी दिइएको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणले एक साताभित्र भू–बहाल सम्झौता गर्न अल्टिमेटम दिएको हो ।
विशेष आर्थिक क्षेत्र प्राधिकरणले बिहीबार सूचना प्रकाशित गर्दै एक साता भित्र भू–बहाल सम्झौता गरी उद्योग स्थापना प्रक्रिया अघि नबढाए उद्योग सञ्चालनको अनुमतिपत्र खारेज गर्ने चेतावनी दिएको हो । विशेष आर्थिक क्षेत्र विकास समितिका अनुसार उद्योग सञ्चालनको अनुमति लिएका ६ वटा उद्योगले भू–बहाल सम्झौता गरेका छैनन् । भू–बहाल सम्झौता नगर्नेमा एक्सेल गार्मेन्ट प्रोसेसिङ इन्डष्ट्रिज प्रा.लि., किरण सुज म्यानुफ्याक्चर्स, मिनरल वाटर इन्डष्ट्रिज, एसियन थाई फूड्स प्रा.लि., श्यामकुमार लोनियाको उद्योग र जगदम्बा सिन्थेटिक प्रा.लि. छन् ।
ती मध्ये एसियन थाई फूड्सले ६ वटा प्लटको लागि अनुमति लिएको थियो । प्रा.लि.का सञ्चालक महेश कुमार विदेश भ्रमणमा रहेकाले सम्पर्क हुन सकेन । उद्योगका कानून अधिकृत गोपालमान भण्डारीले सञ्चालक विदेश गएकाले यस बारेमा आफूले केही भन्न नसक्ने बताए । किरण सुजले भने पुरानो मेसिन प्लटभित्र लैजान पाउनु पर्ने माग गर्दै निवेदन दिएको थियो ।
तर पुरानो मेसिन र उपकरण लैजान पाउने प्रावधान नभएको र लैजानै परे समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने अवस्था रहेकोले यो लामो प्रक्रिया लाग्ने विशेष आर्थिक क्षेत्र विकास समितिका सूचना अधिकृत सुन्दर थापाले बताए । भू–बहाल सम्झौता गर्न बाँकी रहेका ६ वटा उद्योगले २५ वटा प्लटको अनुमति पाएका थिए । यसका लागि करिव ३० लाख रुपैयाँ शुल्क बुझाउनु पर्ने थापाले जानकारी दिए । पटक–पटक सम्झौताका लागि बोलाउँदा पनि उद्योगीहरु नआएकाले अब सम्झौता नभए अनुमति खारेज गर्नुको विकल्प नभएको उनले बताए ।
यस अघि सेजमा दर्ता भएका १८ उद्योगले ६ महिनाको झण्डै ७० लाख रुपैयाँ अग्रिम भू–बहाल शुल्क बुझाएका छन् । आउँदो कात्तिकभित्रै उद्योग सञ्चालनमा ल्याउने गरी शक्ति मिनिरल्स प्रालिले असारबमट उद्योग स्थापना सुरु गरेको छ । अरु १७ वटा उद्योगहरुले पनि ६ महिनाको अग्रिम भू–बहाल तिरेर उद्योग स्थापना गर्न सुरु गरेका छन् । बढ्दो व्यापार घाटा कम गर्न भन्दै सरकारले १७ वर्ष अघि निर्यातजन्य उद्योग स्थापना गर्ने उद्देश्यले पहिलो सेज भैरहवामा निर्माण गरेको हो ।