भदौ ३०, काठमाण्डौ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको लागि न्याय माग्दै शनिबार काठमाडौं बृहत प्रर्दशन गरिएको छ । प्रदर्शनका क्रममा प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाको राजिनामा मागिएको थियो ।
माइतीघरबाट मण्डलाबाट निस्किएको प्रदर्शन नयाँ बानेश्वर चोकमा पुगी धर्नामा परिणत भएको थियो । प्रदर्शनमा सहभागीहरुले सरकारलाई दोषी पत्ता आग्रह राज्यको ध्यानाकर्षण गराउदै निर्मलाका परिवारलाई न्याय दिनका लागी चर्का नारा लगाएका थिए । प्रर्दशनकारीले निर्मलाका निम्ति न्याय, निर्दोषलाई यातना, दोषीलाई उन्मुक्ति ? लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए । शनिबार निर्मलाका निम्ति न्याय’ नाम दिदै मुलुकभरका बिभिन्न स्थानमा एकैसाथ प्रर्दशन गरिएको हो ।
निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्त समेत सहभागी रहेको सो प्रर्दशनीमा हत्यारालाई तत्काल पक्राउ गरी फाँसीको सजाय दिन माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजी गरिएको थियो । उनीहरुले ५० दिन नाघीसक्दा पनि न्याय नदिएको भन्दै प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाको राजीनामा समेत माग गरेका थिए ।
प्रर्दशनीपछि नयाँ बानेश्वरमा आयोजित कोणसभामा बोल्दै निर्मलाका बुबा यज्ञराजले भावविह्वल हुँदै आफूहरुलाई न्याय दिन सरकारसँग माग गरे ।
नागरिक सामाजका अगुवाहरुले पनि निर्मला पन्तको हत्यारालाई पहिचान गरि दोषीलाई कारवाही गर्ने बिषयमा सरकार गम्भीर नभएको गुनासो गरेका छन् । शनिबार शन्तिका लागी साझा अभियानले काठमाडौमा आयोजना गरेको नागरिक खवरदारी कार्यक्रममा उनीहरुले निर्मला हत्या भएको लामो समय हुदा पनि सरकार यस बिषयमा गम्भीर नभएको गुनासो गरेका हुन् । निर्मलाका हत्यारालाई खोज्न नसकिरहेका बेला मुलुकभर दण्डहिनताको घटनाले प्रश्रय पाएको भन्दै उनीहरुले राज्यको ध्यानाकर्षण समेत गराएका छन् ।
त्यस्तै निर्मलाका आमावुबाले निर्मला पन्तका अपराधीहरु खुलेआम हिडीरहेका कारण अन्य महिलाहरु पनि सुरक्षित नभएको धारणा राखेका थिए । घटना भएको लामो समय बितिसक्दा पनि दोषी पत्ता लाग्न नसकेको भन्दै निर्मलाका परिवार अहिले न्याय माग्दै काठमाडौंमा आएका छन् । प्रहरीले असम्बन्धित व्यक्तिहरुलाई यातना दिई घटनाका दोषी करार गर्न खोजेको भन्दै व्यापक विरोध भइरहेका छन् ।
यही घटनाको विषयलाई लिएर संसद समेत अवरुद्ध भइसकेको छ भने केही दिनअघिको प्रदर्शनमा एकजना बालकको ज्यान समेत गइसकेको छ । बलात्कारपछि हत्या गरिएका १३ वर्षीया बालिका निर्मला पन्तको शव साउन ११ गते फेला परेको थियो ।