भदौ ३०, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता केशव बडालका अनुसार प्रधानमन्त्री केपी ओलीले निर्मला पन्तलाई बलात्कार र हत्या गर्नेलाई पक्राउ गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नेता बडालले प्राइम टाइम्स टिभीको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै प्रधानमन्त्री ओली यो घटनामा चिन्तित र संवेदनशील भएको दाबी गर्दै दोषीलाई पक्राउ गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
पन्तलाई बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गर्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला ओलीले आश्वासन दिएका हुन् ।
ओलीलाई उदृत गर्दै बडालले भने, जो सुकै भए पनि निर्मला प्रकरणमा दोषीलाई छोड्दिन । १–२ दिनभित्रै पक्राउ गरेरै छाड्छौँ ।
ओलीले सुरक्षा निकाय र अनुसन्धानमा पठाइएको टोलीलाई पनि प्रभावकारी काम गर्न निर्देशन दिएका छन् ।
निर्मला प्रकरणमा सरकार र प्रहरी प्रशासनको भूमिका कमजोर देखिएको भन्दै आलोचना हुँदै आएकोमा शनिवार काठमाण्डौमा वृहत प्रदर्शन गरिएको थियो ।