असोज ८, काठमाण्डौ । चाडबाड नजिकिएसंगै महँगिएको उपभोक्ताको दैनिकी पछिल्लो समय कष्टकर र त्रसितसमेत बन्न थालेको छ । तेलको लाइनदेखि ग्यास अभावको त्राससम्मले उपभोक्तालाई पिरोली रहेको छ । दशैँको टिकटको चिन्ताले उतिनै साताइरहेको छ आमसर्वसाधरणलाई । दशैँको मुखमा सरकारले नै यातायातको भाडा बढाएपछि उपभोक्ता थप मारमा परेका छन् ।
सुरुमा पेट्रोलको समस्या र यात्रुले पाएको सास्तिको कुरा गरौ ।
पाँच दिनदेखि पेट्रोलियम पदार्थ असहज हुँदा राजधानीका पम्प सञ्चालकले कालोबजारी गरे । पम्पको अन्डरग्राउन्ड ट्यांकीमा तेल भण्डारण भए पनि उपभोक्तालाई वितरण नगरी राखेको अनुगमन टोलीले फेला पारेको थियो ।
शुक्रबार सामाखुसीको आकाश जोगिनी इन्टरप्राइजेजले दुई हजार एक सय ८१ लिटर पेट्रोल भण्डारणमा राखेर उपभोक्तालाई बिक्री नगरेको अवस्थामा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र गुणस्तर तथा नापतौल विभागको अनुगमन टोलीले फेला पारेको हो ।
शनिबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बाँसबारीको खड्का आयल सप्लायर्सले पेट्रोल वितरण नगरेको गुनासो आएपछि मन्त्रालयबाट अनुगमन टोली पुगेको थियो । पम्पमा ६ हजार सात सय ७५ लिटर पेट्रोल मौज्दात रहेको भेटिएपछि टोलीले वितरण गराएको थियो । यी त प्रतिनिधिमूलक उदाहरण मात्रै हुन् । अधिकांश पेट्रोल पम्पले तेलको अभाव भएका बेला यसरी नै कालाबजारी गर्ने र उपभोत्तलालाई मारमा पार्ने काम गरेका छन् । तेल पाएका ठाउँमा पनि घण्टौँ लाइनमा बस्नु पर्ने बाध्यता छ । यतिखेर सहज रुपमा इन्धन पाउनु भनेको सानो तिनो युद्ध जित्नु सरह नै भएको उपभोक्ताहरु बताउँछन् ।
देशभर यातायात सञ्चालनमा कठिनाइ हुँदा पेट्रोलियम पदार्थको आपूर्ति सातादेखि असहज छ । ट्यांकर चालकले तलब वृद्धि, बिमालगायत सामाजिक सुरक्षाको विषयमा माग राखेर आपूर्ति असहज पार्दै आएका छन् । १ चैत, ०७४ देखि निगमले ट्याङकरमा आधुनिक लकिङ जडान थालेको छ । यसबाट वीच बाटोमा हुने तेल चोरी नियन्त्रणमा आएको छ । चालकले यसरी तेल चोर्न नपाएपछि विभिन्न माग राखि इन्धन ओसार्न अवरोध गरेका थिए ।
यता सरकारले भने भारतीय नाकाबन्दी पछि कम्तिमा ६ महिना पुग्ने गरि इन्धन भण्डारण गर्ने गरि भण्डार गृह बनाउने बताएको थियो । तर, त्यसतर्फ काम भएको छैन् भएकै भण्डार गृहहरुमा पनि कहिल्यै तेल भरिने गरेका छैनन् ।
चाडबाड नजिकिएसंगै उपभोक्तलाई ग्यास अभावको त्रासले उतिनै सताउन थालेको छ । उद्योगीले अफ्ना माग पूरा गर्न दबाब दिने उद्देश्यले बर्सेनी दसैँअघि ग्यास अभावको हल्ला सिर्जना गर्ने गरेका छन् । यसपटक पनि साताअघि पत्रकार सम्मेलन गरी ग्यास उद्योग संघले ग्यास ढुवानी गर्ने बुलेटको भाडादर नबढाए आपूर्तिमा समस्या हुने बताएका छन् ।
दशैँको मुखमा सास्ति र हैरानीको अर्को विषय बनेको छ, अग्रिम टिकट बुकिङ । असोज ५ बाट टिकट बुकिङ खोल्ने सहमती गरेका यातायात व्यबसायीले अन्तिम समयमा आएर सरकारलाई थर्काउदै टिकट बुकिङ गरेनन् । १० प्रतिशत भाडा बढाउने सहमति पछि टिकट बुकिङ गर्न तयार भएका छन् । तर, यात्रुले सहजै र सरल रुपमा टिकट पाउने छाट देखिदैन् । यै मौकामा यात्रु ठग्ने र ब्ल्याकमा टिकट बेच्नेहरुको बिगबिगीका कारण यात्रु दोब्बर रकम तिर्न त बाध्य हुन्छन् नै सास्ति पनि उतिनै भोग्नु पर्ने निश्चित छ ।
भार जनताकै थाप्लोमा ।
उद्योगीले सात–आठ वर्षदेखि हरेक दसैँअगाडि आन्दोलन गर्दै आएका छन् । कहिले कमिसन वृद्धि, कहिले ग्यास कार्ड, कहिले रातो–निलो सिलिन्डर, कहिले कोटा वृद्धि र कहिले नेपाली बुलेटको माग राखेर ग्यास उद्योगीले दसैँअगाडि नै आन्दोलन गर्दै आएका छन् । यसपटक पनि आन्दोलन गर्ने चेतावनी दिएर व्यवसायीले सरकारलाई दबाब दिने र उपभोक्तालाई त्रसित बनाउने काम गरेका छन् ।
पछिल्लो केहि दिन यता राजधानीबाहिरका नागरिकले चालकहरुले सवारी साधन ठप्प बनाए । नयाँ फौजदारी ऐनले चालकको लापरबाहीबाट यात्रुको मृत्यु भए ३ देखि १० वर्ष कैद सजाय र जरिवानासमेत हुने व्यवस्था गरेपछि स्वतन्त्र सवारी चालक संघर्षं समितिको आह्वानमा देशभरि आन्दोलन भयो । २ असोजदेखि आन्दोलन गरेका उनीहरूले सरकारसँग गत शुक्रबार ६ बुँदे सहमति गरेपछि आन्दोलन स्थगित गरेका छन् । तर, पनि फेरि आन्दोलन नदोहोरिएला भनेर ढुक्क हुने अवस्था छैन् ।