Logo

निर्मलाको मुचुल्कामा नक्कली औँठाछाप, कपडा जलाइयो, सांसदले भने मुख देखाउन लाज भयो



असोज १०, काठमाण्डौ । निर्मला पन्तको बलात्कार र हत्याको विषयमा छानविन गर्न गठित उच्चस्तरीय समितिले हिजो प्रतिवेदन गृहमन्त्री रामबहादुर थापालाई बुझायो । तर प्रतिवेदन सार्वजनिक गरिएको छैन ।

प्रतिवेदन किन सार्वजनिक गरिएन भन्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मात्रै होइन, सत्तारुढ दलकै नेताहरुले सरकारको नियतमाथि प्रश्न उठाएका छन् ।

प्रतिवेदन सार्वजनिक नभए पनि केही महत्वपूर्ण तथ्यहरु भने खुलासा भएको छ । निर्मला पन्तको मुचुल्कामा बाबुको ‘नक्कली’ औंठाछाप भेटिएको छ । साथै घटनास्थलमा बरामद भएको उनको कपडासमेत जलाएको पाइएको छ ।

नक्कली औँठाछाप र कपडा जलाइएको तथ्य गृहमन्त्री रामबहादुर थापाले नै खुलासा गरेका हुन् ।

संसदको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा गृहमन्त्री थापाले यो कुरा बताएका हुन् ।

गृहमन्त्री थापाले निर्मला हत्यामा तत्कालीन प्रहरी टोलीले लापरवाही गरेको स्वीकार गर्दै पन्तको हत्याबारे छानविन गर्न बनेको उच्चस्तरीय समितिले मंगलबार प्रतिवेदन बुझाएको र त्यसका आधारमा दोषीलाई छिट्टै पक्राउ गर्ने आश्वासन दिएका छन् ।

यता प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै कांग्रेसका सांसद भिमसेनदास प्रधानले दुई दिनभित्र प्रतिवेदन सार्वजनिक नगरिए संसद अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।

सोही कार्यक्रममा नेकपाका नेता आनन्दप्रसाद पोखरेलले भने केही दिनभित्र नै सरकारले प्रतिवेदन सार्वजनिक गर्ने र प्रतिवेदनकै आधारमा दोषी पक्राउ गर्ने आश्वासन दिए । पोखरेलले निर्मलाको हत्या र बलात्कारको घटनामा एसएसपी डिल्लीराज पन्त नै दोषी भएको संकेत गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीका सांसद विरोध खतिवडाले त झन सरकारका कारण मुख देखाएर हिँड्न लाज भइसकेको बताएका छन् ।

प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले निर्मला पन्तको बलात्कारपछि हत्या घटना अनुसन्धानमा सरकारको गतिविधिले मुख देखाएर हिँड्नै लाज भइसकेको बताएका हुन् ।

राज्यको स्थायी संयन्त्रले अनुसन्धान अघि बढाउनुभन्दा आयोग बनाएर प्रतिवेदन कुरेर बस्नु लाजमर्दो भएको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्