मंसिर १४, काठमाण्डौ । एसिया प्यासिफिक समिटका लागि आएका विदेशी पाहुनालाई भेट्नका लागि प्रधानमन्त्री केपी ओली तीन दिन वालुवाटार छोड्ने भएका छन् ।
विभिन्न देशका राष्ट्रप्रमुख, सरकारप्रमुख तथा विशिष्ट व्यक्तिहरुसँगको भेटघाटका लागि ओली होटल सोल्टीमा बसेका छन् ।
विवादित कार्यक्रमका लागि आएका पाहुनालाई सरकारी निवास वालुवाटार बोलाएर भेट्दा थप आलोचना हुने डरले प्रधानमन्त्रीलाई होटल सोल्टीमै राखेर भेटघाट गराउन लागिएको अनुमान गरिएको छ । त्यसो त आउने–जाने समयको बचत गर्नका ओली बिहीबारबाटै सोल्टीमा बसेको बताईको छ ।
सम्मेलनमा भाग लिन म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन बिहीबार आएका छन् । उनीहरूलाई होटल सोल्टीमा राखिएको छ ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी र म्यानमारकी नेतृ आङ साङ सुकीबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति भण्डारी र एसिया प्यासिफिक समिटमा सहभागी हुन बिहीबार नेपाल आएकी सुकीबीच शीतलनिवासमा शुक्रबार बिहान भेटवार्ता भएको हो ।
सम्मेलनमा सहभागि हुन विभिन्न राष्ट्रका राष्ट्र प्रमुख तथा प्रतिनिधिहरु आउने क्रम जारी छ । दक्षिण कोरियामा रहेको अन्तर्रा्ष्ट्रिय संस्था युनिभर्सल पिस फेडरेसन (यूपीएफ) को नेपाल च्याप्टरले आयोजना गरेको सम्मेलनमा विभिन्न ४५ देशका झण्डै १५ सय प्रतिनिधि सहभागी हुने बताइएको छ ।
विभिन्न देशका सरकार प्रमुखसहित यति धेरै प्रतिनिधि बोलाएर हुन लागेको यो सम्मेलन नेपालमै पहिलो पटक हुन लागेको ठूलो अन्तर्राष्ट्रिय सम्मेलन भएको आयोजकको दावी छ ।