मंसिर २२, काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद शनिवार छताछुल्ल भयो ।
शनिवारका लागि बोलाइएको सचिवालय बैठक चार नेताले बहिस्कार गरेपछि असन्तुष्टी छताछुल्ल भएको हो ।
वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बहस्कार गरेका हुन् । नेकपा सचिवालय बैठक अपराहृन ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको थियो ।
तर, आधा घन्टा कुर्दा पनि बैठक सुरु नभएको भन्दै चार नेता बालुवाटारबाट हिँडेका हुन् ।
नेकपाको सचिवालयमा ९ जना सदस्य छन् । ९ जनामध्ये चार शीर्ष नेताले बैठक बहिष्कार गरेपछि ओलीप्रतिको असन्तुष्टी छताछुल्ल भएको हो ।
पछि ९ जनामध्ये ५ जनाको कोरम पुर्याएर बैठक त गरियो, तर चार जनाको बहिष्कारले अध्यक्ष ओलीलाई झस्काएको छ । बैठकमा ओलीलाई बचाउ गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल, रामबहादुर थापा, इश्वर पोखरेल र विष्णु पौडेलले बैठक सफल बनाए ।
तर दाहाल र थापा पनि ओली गुटका होइनन् । महासचिव पौडेल पनि कुनै पनि बेला दाहालको क्याम्पमा हाम्फाल्ने सम्भावना छ ।
नैतिक रुपमा दाहालले आज ओलीलाई साथ दिए पनि ओली नै दाहालका वास्तविक प्रतिस्पर्धी हुन् । तसर्थ दाहालले महत्वपूर्ण समयमा ओलीलाई साथ नदिने पक्कापक्की छ । यस्तो अवस्थामा ओलीको साथमा इश्वर पोखरेल मात्रै रहने सम्भावना देखिन्छ ।
आज चार नेताले बहिस्कार गरेपनि बाँकी नेताहरु बसेर स्थायी कमिटीको बैठकको मिति तय गरेको छ । स्थायी कमिटीको बैठक २९ गते अपरान्ह १ बजे पार्टीको केन्द्रीय कार्यालय धुमबराहीमा बस्ने निर्णय सचिवालय बैठकले गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।
चार नेताको बहिस्कारबारे सोधिएको प्रश्नमा महासचिव पौडेलले दुई अध्यक्षको छलफल चलिरहेकाले बैठक बस्न ढिलो भएको जवाफ दिएका थिए ।