काठमाडौं, २ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली अब पनि नसुध्रिए पार्टीभित्रैबाट उनको विकल्प खोज्ने सनसनीपूर्ण खुलासा गरेका छन् ।
सोमबार राति प्राईम टाईम्सबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छनमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । यद्धपी उनले आफूहरुको अहिले मुल एजेण्डा प्रधानमन्त्री हटाउने वा तिव्र आलोचना गर्ने नरहेको जिकिर गरे । सरकारले सुरुवाती चरणमा काम गर्दै जाँदा केही गल्तीहरु गरेपनि अब त्यसलाई सुधार गरेर अघि बढ्ने उनको विश्वास छ ।
हिजो १४ वर्ष जेल बसेको नाममा ओलीलाई र जनयुद्धमा मृत्युको मुखबाट बाँचेको नाममा प्रचण्डलाई पार्टीमा गल्ती गर्ने छुट नरहेको पनि उनले चेतावनी दिए । स्थायी समिति बैठकमा पार्टी नेतृत्व र सरकार दुवै बारेमा गम्भिर रुपमा समिक्षा तथा छलफल हुने उनको भनाई छ ।
स्थायी समिति बैठकमा नेताहरुले मन्त्रीहरु हटाउनुपर्ने र प्रधानमन्त्रीको सल्लाहकार पनि हटाउनुपर्ने कुरा उठाउनुभयो भने त्यो कुरालाई प्रधानमन्त्रीले आत्मसात गर्नुपर्ने उनको भनाई छ ।
सरकारको विरोध गर्नेहरु खुलेर आउ भनेर प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले त चूनौति दिनुभएको छ नि भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा नेता भट्टराईले आफूले अहिलेसम्म रिमालले त्यस्तो भाषा प्रयोग गरेको थाहा नपाएको जिकिर गरे । यद्धपी उनले यदि रिमालले त्यस्तो भाषा प्रयोग गरेको भए बालुवाटारमा बसेर छाती नपिटे हुन्छ भन्ने चेतावनी दिए ।
उनले भने,”बालुवाटारमा बसेर छाती पिट्ने, हुँकार गर्ने, त्यसलाई कसैले राम्रो मान्दैन । त्यो ठाउँ नै बालुवा भएर होला कि क्या हो , त्यो ठाउँ नै अलिक बढि रुखो हुँदो रैछ । बालुवाटारसँग हामी सबैको कुनै न कुनै रुपमा हाम्रो भविष्य जोडिरहेको छ । मुलुकको भविष्य जोडिराखेको छ । त्यसकारण त्यहाँ बस्नेहरु बढिभन्दा बढि विनम्रता हुनु नै राम्रो हुन्छ ।”